काठमाडौं- उपत्यकाको सबैभन्दा ठूलो तरकारी बजार कालिमाटी फलफूल तथा तरकारी बजारका व्यवसायीमाथि सरकारले कारबाही थालेको छ। कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले उक्त बजारभित्रका व्यपारीमाथि कारबाहीको पहिलो चरण अन्तर्गत स्पष्टीकरण माग गरेको छ।
शुक्रबार मन्त्रालयमा बसेको कालिमाटी फलफूल तथा तरकारी विकास समितिको बोर्ड बैठकले बजार क्षेत्रभित्रका व्यापारीलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो। बैठकले उक्त बजार क्षेत्रमा व्यापारीलाई विभिन्न चार चरणमा विभाजन गरेर सात दिनभित्र स्पष्टीकरण बुझाउन निर्देशन दिएको बैठकमा सहभागी एक अधिकारीले जानकारी दिए।
मन्त्रालयले ९९ जना व्यापारीलाई रातो समूहमा राखेको छ। स्पष्टीकरण माग गरिए पनि उक्त समूहका व्यापारीमाथि कडा कारबाही गर्ने तयारी सरकारको छ। वास्तविक कारोबारमा संलग्न नहुने तर भाडामा लगाएर नाफा खाने खालका व्यापारीलाई यो समूहभित्र राखिएको छ। ती व्यापारीमाथि सम्झौतापत्र किन खारेज नगर्ने भन्ने स्पष्टीकरण सरकारले सोधेको हो।
स्पष्टीकरणबाट चित्तबुझ्दो जवाफ प्राप्त हुन नसके यो समूहका व्यापारीको सम्झौतापत्र खारेज गर्ने सरकारको तयारी छ।
त्यस्तै, एक सय ३१ व्यापारी निलो समूहमा परेका छन्।
दुई सय नौ व्यापारीलाई पहेँलो समूहमा राखिएको छ। यस्ता खालका व्यापारीलाई भने सचेतमात्र गराएर कारोबर गर्न दिने निर्णय बोर्ड बैठकले गरेको छ। बाँकी रहेका एक सय ५९ व्यापारीमाथि भने बोर्ड नरम बनेको छ। उनीहरुले असल मनसायले कार्य गरिरहेको बोर्ड बैठकको ठहर छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।