काठमाडौं- कोरोना महामारी बढेसँगै बन्द भएका काठमाडौं उपत्यकाका विद्यालयहरू सञ्चालन गर्न केही प्रावधान खुकुलो बनाइएको छ।
काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकपछि जारी सूचना अनुसार अब शैक्षिक संस्थाहरूले जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रसँग समन्वय गरेर भाैतिक उपस्थितिमा पठन पाठन गर्न पाउने उल्लेख छ।
यसअघि विद्यालयहरूले भर्चुअल माध्यमबाट मात्र पठन पाठन गर्दै आइरहेका थिए।
'शैक्षिक संस्थाहरु (विद्यालय) ले भौतिक उपस्थितिमा पठन पाठन गर्न/गराउन नपाउने। गर्नैपर्ने भएमा नेपाल सरकारले जारी गरेको स्मार्ट लकडाउनको प्रावधान भित्र रही स्थानीय तहहरुले जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रसँग समन्वय गरी विद्यालयहरु संचालनको निर्णय गर्न सक्ने', बैठकपछि जारी सूचनामा भनिएको छ।
अनावश्यक रुपमा मानिसहरु जम्मा हुने, भिडभाड गर्ने, सभा जुलुस गर्ने, जात्रा महोत्सव, भोज आदि नगर्ने/नगराउने, यस अवधिमा पर्ने चाडपर्वहरु स्वास्थ्य प्रोटोकलको पूर्ण पालना गरी न्यूनतम सहभागितामा सांकेतिक रुपमा मात्र मनाउन पाइने प्रशासनले जनाएको छ।
सर्वसाधारण व्यक्ति, समूह तथा संस्था लगायतका निकायहरुबाट आर्थिक, सामाजिक तथा व्यवसायिक गतिविधिहरु सञ्चालन गर्दा सरकारले तोकेको स्वास्थ्य मापदण्ड पूर्ण रुपमा पालना गरेर मात्र गर्न पाउने, स्थानीय ढुवानी बिहान ९ बजेदेखि ११ बजेसम्म र दिउँसो ४ बजे देखि साँझ ७ बजेसम्म
गर्न नपाउने भनिएको छ।
सार्वजनिक तथा निजी निर्माण कार्यको लागि निर्माण सामग्री ढुवानी राति ९ बजेदेखि बिहान ५ बजेसम्म सञ्चालन गर्न पाउने जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।