काठमाडौं– अर्थमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का नेता जनार्दन शर्माले अबको १० वर्षमा युवा पुस्ताले देश विकास गर्नुपर्ने बाध्यता रहेको बताएका छन्। बुधबार ज्ञानकुञ्ज एजुकेसन फाउन्डेशनको भवन शिलान्यास कार्यक्रममा सहभगी अर्थमन्त्री शर्माले अबको १० वर्ष युवा पुस्ता लागिपरे मात्र देशले कोल्टो फेर्ने बताए।
अहिलेको युवा पुस्ताले अबको एक दशक देश विकासका लागि समय ननिकाल्ने हो भने वृद्धावस्थामा देश विकास गर्छु भनेर पनि नसकिने उनको भनाइ थियाो।
अबको एक दशक नेपाल राष्ट्रका लागि महत्त्वपूर्ण समय भएको बताउँदै अर्थमन्त्री शर्माले यो अवधिमा धेरै समस्याहरूलाई पन्छाउँदै विकास प्रगतितिर अघि बढ्नुपर्नेमा जोड दिए।
‘हाम्रो देशको विकास गर्नका लागि हामीसँग भएको पर्याप्त साधन, स्रोत, जनशक्ति अहिले जे छ, नेपाल युवा बहुल जनशक्तिमा छ, यो १० वर्षको अवधिमा हामीले यो देशलाई विकास गर्न सक्यौं भने यो एउटा अवसर हो, यदि यो १० वर्षको अवधि प्रयोग गर्न सकेनौं भने क्रमशः अहिलेको युवा, प्रौढ हुँदै, वृद्ध हुँदै बुढाहरूको बाहुल्य हुने अवस्था सिर्जना हुन्छ, त्यतिवेला हामी विकास गर्छाैं भनेर पनि, हाम्रो श्रम प्रयोग गर्छौँ भनेर पनि नसक्ने अवस्था सिर्जना हुन्छ,’अर्थमन्त्री शर्माले भने, ‘त्यसकारण अबको १० वर्ष, यो एक दशक, नेपाल राष्ट्रका लागि महत्वपूर्ण घडी छ, यही अवधिमा हामीले धेरै समस्या, चुनौतीलाई पन्छाउँदै विकास, प्रगतितिर अगाडि बढ्नुपर्नेछ।’
पर्याप्त मात्रामा साधनस्रोत हुँदा हामी पछि परेको बताउँदै युवाशक्तिले नेतृत्व गरी देशलाई विकासको दिशामा अघि बढाउनुपर्ने उनको भनाइ थियो।
युवाले देखेको देशको विकास र समृद्धिमा भ्रष्टाचार, राजनीतिक समस्या भइरहेकोले युवाहरू निराश भएको र अब त्यस्तो नैराश्य पैदा हुन नदिने अर्थमन्त्री शर्माले आश्वासन दिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।