फाइल तस्वीर
काठमाडौं– विगत एक महिनादेखि काठमाडौं उपत्यकामा सडकमा थुप्रिएको फोहोर आज (बुधबार) देखि उठ्ने भएको छ।
काठमाडौं महानगरपालिका र ल्याण्डफिल साइट (नुवाकोटको सिसडोल)का स्थानीयबीच मंगलबार सम्झौता भएपछि फोहोर व्यवस्थापनका सन्दर्भमा देखिएको अवरोध हट्ने भएको हो। काठमाडौं महानगरपालिकाको वातावरण विभाग र सिसडोलका स्थानीयबीच ९ बुँदे सहमति भएको हो।
स्थानीय र महानगरपालिकाबीच तीनपिप्ले–सिसडोल सडक तत्काल (१५) दिनभित्र ग्राभेल गर्ने र कालोपत्रेका लागि लगत्तै टेण्डर प्रक्रियामा जाने, फोहोर ढुवानी गाडीहरुको लिचेड बक्सको व्यवस्था गर्ने तथा तीनपिप्ले–सिसडोल सडक खण्डमा पार्किङ गर्न र ओभरलोड ढुवानी गर्न नपाउने सम्झौता भएको छ।
फोहोरको पछिल्लो समस्या समाधान गर्न मंगलबार प्रमुख शाक्यको संयोजकत्वमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी, सडक विभागका महानिर्देशक, प्रहरी वरिष्ठ उपरीक्षकलगायतको बैठक बसेको थियो।
बैठकको निर्णयपछि उपत्यकाका विभिन्न सडक र चोकमा थुप्रिएको फोहोर बुधबार विहान ६ बजेबाट उठ्ने काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्यले बताए।
बैठकमा सडक विभागले बञ्चरेडाँडासम्म पुग्ने बैकल्पिक बाटो निर्माण गर्ने र यसको खर्च महानगरपालिकाले व्यर्होने निर्णय भएको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।