काठमाडौं- राष्ट्रिय सभाकी उपाध्यक्ष शशीकला दाहालले नेपालको अपाङ्गता आन्दोलन अन्धविश्वासलाई चिरेर अधिकारको युगमा प्रवेश गरेको बताएकी छन्। राष्ट्रिय अपाङ्ग महासंघले आफ्नो २८ औं स्थापना दिवसको अवसरमा मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उपाध्यक्ष दाहालले यस्तो बताएकी हुन्।
‘कुनै समय थियो, कुनै परिवारमा अपाङ्गता भएका व्यक्ति जन्मियो भने उसका बा आमाले गरेको पापको नतिजाको रूपमा व्याख्या गरिन्थ्यो। त्यो परिवारलाई नै हेलाको दृष्टिले हेरिन्थ्यो। तर, अहिले समय त्यस्तो छैन। अहिले हामी अपाङ्गता भएका व्यक्तिको अधिकारका विषयमा बहस गरिरहेका छौं,’ उनले भनिन्।
उपाध्यक्ष दाहालले अन्धविश्वासको त्यो समयदेखि आजसम्म अपाङ्गता अधिकारका लागि निरन्तर खटिएका अधिकारकर्मीहरूलाई धन्यवाद दिँदै यो सफलताका लागि बधाई समेत दिइन्। उनले अपाङ्गता भएका व्यक्तिहरूको अधिकारका लागि बनेका कानुन प्रभावकारी रूपमा कार्यान्वयन हुनुपर्नेमा जोड दिइन्।
अपाङ्गता भएका व्यक्तिहरूको हकहितलाई मध्यनजर गर्दै विभिन्न समयमा थुप्रै राम्रा कानुन निर्माण भएको भन्दै उनले बनेका कानुन प्रभावकारी रूपमा कार्यान्वयन हुनसके अपाङ्गता भएका व्यक्तिहरूका धेरै समस्या समाधान हुने धारणा राखिन्। आन्दोलनबाट प्राप्त अधिकारलाई संस्थागत गर्नुपर्ने आवश्यकता उनले औंल्याएकी थिइन्। उपाध्यक्ष दाहालले अपाङ्गमैत्री कानुन निर्माण र त्यसको कार्यान्वयनका लागि आफूले सधैं पहल गर्ने प्रतिबद्वता व्यक्त गरिन्।
सोही अवसरमा महासंघले प्रकाशन गरेको दुईवटा पुस्तक (अपाङ्गता समावेशी स्थानीय विकास सहजीकरण पुस्तिका र क्षमता विकाससम्बन्धी तालिम सहजीकरण पुस्तिका) सार्वजनिक गरिएको थियो। साथै, महासंघका पूर्वअध्यक्षहरूलाई सम्मान गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।