काठमाडौं- वीरगञ्जको पथलैया औद्योगिक कोरिडर सिमरामा रहेको जगदम्बा स्टिल प्रालिमा भएको तोडफोडप्रति नेपाल उद्योग वाणिज्य महासंघले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। महासंघले भदौ ११ गते बिहान भएको तोडफोडप्रति भर्त्सना व्यक्त गरेको हो।
'स्थानीय तहमा सञ्चालित उद्योग व्यवसायले स्थानीय जनतालाई रोजगारीका साथै त्यस क्षेत्रका जनताको आर्थिक जीवनस्तर सुधारमासमेत निकै ठूलो सहयोग पुर्याइरहेको यथार्थता जगजाहेर छ। तर उद्योग समस्यामा परेको मौका छोपी स्थानीय जनता नै जबरजस्ती उद्योग परिसरमा प्रवेश गरी उद्योगका महत्त्वपूर्ण सरसामान, मेसिनहरू, पार्किङ गरी राखिएका सवारीसाधनहरू तोडफोड गरी ध्वस्त बनाउनु अत्यन्त दुःखद् कुरा हो,' महासंघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
भदौ ११ गते बिहान १०:१५ बजे उद्योगको अमोनिया ग्याँस टयांकबाट ग्यास लिक भइ भएको घटनालगत्तै उद्योग परिसरभित्र स्थानीयहरू बलजफ्ती प्रवेश गरी उद्योगमा तोडफोड भएको उद्योगले जनाएको छ। वार्ताबाट समस्या समाधान गर्न सकिने अवस्था हुँदाहुँदै तोडफोड हुनु दुर्भाग्यपूर्ण भएको महासंघको भनाइ छ।
'यसले एकातिर उद्योग र स्थानीय जनताबीचको आपसी विश्वासमा कुठाराघात गर्छ भने अर्कोतिर उद्योगी व्यवसायीको मनोबल खस्कने, लगानी निरूत्साहित हुने र स्वदेशी एवं विदेशी लगानीकर्तामाझ नकारात्मक संदेश जानेतर्फ महासंघको गम्भीर चिन्ता छ,' विज्ञप्तिमा उल्लेख छ।
उक्त घटनामा संलग्नहरूको तत्काल पहिचान गरी दोषीलाई कानुनको दायरामा ल्याइ कारबाही गर्न र उद्योग पूर्वावस्थामै सञ्चालन गरी औद्योगिक वातावरण निर्माणमा सहयोग गर्न महासंघले संघीय सरकारसहित तीनै तहका सरकारसमक्ष आग्रह गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।