काठमाडौं– नेपाल विद्यार्थी संघको १२औं महाधिवेशनका सन्दर्भमा विद्यार्थी नेताहरु विभाजित देखिएका छन्। सभापती नैनसिंह महरले महाधिवेशनका लागि साउन २३ देखि २७ सम्मको मिति तोकेका छन् भने अर्को पक्षले विरोध गरेको छ।
दुई वर्षमा गर्नुपर्ने महाधिवेशनका लागि समय निश्चित गरिएको महरले बताए। महरका अनुसार महाधिवेशनको स्थान भने तय हुन बाँकी छ।
सभापती महरप्रति असन्तुष्टि जनाउँदै आएका अर्को समुहका नेताहरुले भने सभापति विधान विपरित चलेकोले अधिवेशन हुनै नसक्ने दावी गर्दै आएका छन्। सभापतीको कदमप्रति तिव्र मतभेद राख्दै आएका महामन्त्री कुन्दनराज काफ्लेले सभापतिले नै नेविसंघलाई विघटनको दिशामा पुर्याएको आरोप लगाए। ‘कम्युनिस्ट सरकारका जनविरोधी क्रियाकलापकाे विराेधमा लाग्नुपर्ने समयमा संघ नै विघटन गर्नुपर्ने अवस्थामा सभापतिले ल्याइपुुर्याउनु भएको हो।’, काफ्लेले भने। सभापतिका कदम नसच्चिएसम्म महाधिवेशन हुनै नसक्ने उनको अडान छ।
कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल निकट रहेका अर्का विद्यार्थी नेता मनोजमणि आचार्यले सभापतीले तोकेको समयमा महाधिवेसन हुनै नसक्ने जिकिर गरे। ‘सभापतिले केन्द्रीय समितीको बैठक बोलाउनु भएको छैन। केन्द्रीय समितीको बैठकले औपचारिक निर्णय नगरिकन कसरी महाधिवेशन हुन्छ?’, आचार्यले प्रश्न गरे।
सभापतिले विधान विपरित गरेका मनोनयन खारेज हुनुपर्ने उनले मागसमेत गरे। महाधिवेसन सम्पन्न गर्नका लागि पूर्व तयारी नभएको बताउँदै उनले भने, ‘तल्लो तहमा अधिवेसन नगरि महाधिवेशन सम्भव हुँदैन। महाधिवेशनका लागि पूर्व तयारी भएको छैन।’
नेविसंघमा सभापतिले विधान विपरित केन्द्रीय सदस्य थपेको तथा जिल्लास्थित क्याम्पसहरुमा आफूखुसी मनोनयनको पत्र दिएको भन्दै असन्तुष्ट पक्षले विरोध गरिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।