जलेश्वर– महोत्तरीको मूल भन्सार भिट्ठामोड सीमानाकाबाट १७ महिनापछि आवतजावत सञ्चालन भएको छ।
कोभिड–१९ महामारीका कारण २०७६ साल चैत ११ गतेदेखि बन्द रहेको महोत्तरीको मुख्य भन्सार नाका पुनः सञ्चालन भएको छ।
गत शुक्रबार, शनिबार र आइतबार जलेश्वर नगरपालिका–३ मलिवाराका वडाध्यक्ष सञ्जय पाण्डेको नेतृत्वमा करिब सय जनाले सीमानाकामा धर्ना बसेपछि सो नाका भएर सोमबारदेखि सर्वसाधारणको आवतजावत खुला गरिएको वडाध्यक्ष पाण्डेले बताए।
सो नाकाबाट मालवाहक ट्रक, टिपरलगायत साधन बन्दाबन्दीको बेला पनि निर्वाध रुपमा आवातजावत गरेका थिए। तर, पैदल यात्रुलाई भने रोकिएको थियो। भन्सार भएरै पैदल यात्रुलाई आवतजावत गर्न नदिएपछि उनीहरु पाँच सय मिटर टाढा वन र खोल्सीको बाटो हुँदै नेपाल–भारत आउजाउ गरिरहेका थिए।
मुख्य भन्सारबाटै आवागमन भएपछि सर्वसाधारण खुसी भएका छन् । सो नाकाबाट पैदल आवागमन सुरु भए पनि सवारी साधन अझै सञ्चालन भएको छैन। मालवाहक गाडीहरु पहिलेझैँ आउजाउ गरिरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।