फाइल तस्वीर
काठमाडौं– अफगानिस्तानबाट हालसम्म ८२८ नेपाली स्वदेश फिर्ता भएका छन्। परराष्ट्र मन्त्रालयका अनुसार सोमबार टर्किस एयरको नियमित उडानबाट ४५ जना फर्किएका थिए।
मन्त्रालयले अफगानिस्तानबाट नेपालीलाई यथाशक्य चाँडो उद्धार गरी स्वदेश फर्काउने क्रम जारी रहेको जनाएको छ।
काबुलमा उद्धार उडानको प्रतीक्षामा रहेकाहरूलाई स्वदेश फर्काउन सम्बन्धित निकायसँग समन्वय भइरहेको मन्त्रालयले जनाएको छ। काबुलमा रहेका सबैसँग सरकार नियमित सम्पर्कमा रहेको पनि मन्त्रालयले बताएको छ।
स्वदेश फर्किएका नेपाली नागरिकलाई कोभिड–१९ संकट व्यवस्थापन केन्द्रबाट स्वास्थ्य मापदण्डअनुसार आवश्यक परीक्षण गरी आवश्यक व्यवस्थापन गरिएको छ।
अफगानिस्तानमा रहेकाहरूलाई कन्सुलर सेवा विभागको वेबसाइटमा रहेको ‘अनलाइन पोर्टल’ तथा विभाग, परराष्ट्र मन्त्रालय, मन्त्रालयको ‘सिचुएसन रुम’ र नयाँदिल्लीस्थित नेपाली दूतावासमा आफ्नो नामसहितको विवरण दर्ता गराउन पनि मन्त्रालयले अनुरोध गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।