काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले सिसडोलसम्म जाने सडक निर्माण तत्काल थाल्न निर्देशन दिएका छन्।
सोमबार काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, उपमेयर हरिप्रभा खड्गी श्रेष्ठलगायतसँगको छलफलमा प्रधानमन्त्री देउवाले सडक विभागका डिजीलाई टेलिफोन सम्पर्क गरेर आजैबाट तत्काल बाटो बनाउने कार्य थाल्न निर्देशन दिएका हुन्।
‘सिसडोलसम्म जाने बाटो वर्षाका कारण बिग्रिएको छ। त्यहि कारण केही दिनदेखि पूर्णरुपमा फोहोर उठाउन सकेका छैनौं,’ प्रधानमन्त्री देउवाको भनाइ उद्धृत गर्दै मेयर शाक्यले भने, ‘सिसडोलसम्म फोहोर बोकेका गाडी लैजानका लागि सडक निर्माणको पहल गर्न हामीले प्रधानमन्त्रीज्युलाई आग्रह गर्यौं। उहाँले त्यहिबाट सडक विभागका डिजीलाई टेलिफोन सम्पर्क गरी आजैबाट तत्काल बाटो बनाउने कार्य थाल्न निर्देशन दिनुभयो।’
मेयर शाक्यले प्रधानमन्त्रीले बोलाएरभन्दा पनि फोहोर व्यवस्थापनका लागि आफैंले पहल गरेर प्रधानमन्त्रीसँग भेटघाट गरेको भन्दै बाटो निर्माण हुने बितिक्कै तुरुन्तै फोहोर उठाउन सकिने बताए।
‘प्रधानमन्त्री देउवासँगको भेटमा हामीले बञ्चरे डाँडाको ल्याण्डफिल्ड साइड छिटो न्दा छिटो निर्माण सम्पन्न गरेर हस्तान्तरण गर्ने वातावरण निर्माण गर्न पनि आग्रह गरेका छौँ,’ शाक्यले भने, ‘भदौ ८ गते नै प्रधानमन्त्रीलाई पत्र पठाएर फोहोर व्यवस्थापनका लागि पहल गर्न आग्रह गरेको थिएँ। त्यसै अनुसार उहाँसँग भेटघाटका लागि समय मागेको थिएँ। आज भेटघाटको मिति तय भयो।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।