फाइल तस्वीर
काठमाडौं– केही दिनदेखिको लगातार वर्षासँगै आएको बाढीपहिरोले देशका विभिन्न १४ सडक अवरुद्ध भएका छन्। सडक विभागका अनुसार अवरुद्ध सडक सञ्चालनका लागि प्रयास भइरहेको छ।
सामान्य पहिरो गई अवरुद्ध भएका सडक छिट्टै सञ्चालनमा ल्याउने काम भइरहेको छ। सडक विभागले मुलुकभरका लोडर, एस्काभेटर, डोजर, ट्रान्सपोर्ट ट्रक, क्रेन, क्रेनट्रक, ट्रकलगायतका २०५ वटा हेभी इक्विपमेन्टमार्फत राजमार्ग र सडकको अवरोध हटाउने काम गरिरहेको बताएको छ।
तयारी अवस्थामा राखिएका इक्विपमेन्ट अपुग भएमा सम्बन्धित डिभिजनबाट पठाउने गरी तयारी गरिएको विभागको भनाइ छ।
हाल मुग्लिन–नौबिसे–काठमाडौं खण्डको गल्छीमा, सिद्धार्थ राजमार्गअन्तर्गत बेलहिया–भैरहवा–बुटवल–वर्तुङ–राम्दी–स्याङ्जा–पोखरा खण्डको डुम्रेमा, भिट्टामोड–जलेश्वर–बर्दिबास, खुर्कोट–मन्थली–तामाकोसी–सिँगटी–लामाबगर–लाप्चेगाउँ सडकखण्डको टिल्पुङमा सडक अवरुद्ध भएको छ।
त्यसैगरी अरनिको राजमार्गअन्तर्गत काठमाडौं–धुलिखेल–दोलालघाट–खाडीचौर–कोदारी सडकखण्डको डकलाङमा, सिन्धुपाल्चोकको लिपिङमा पहिरोका कारण सडक अवरुद्ध छन्। त्यसैगरी, सुर्खेत–दैलेख–महावुलेख–गाल्जे, नाग्मा–गमगढी–नाक्चेलाग्ना सडकअन्तर्गत जुम्लाको बडकी भन्ने ठाउँमा, गल्छी–त्रिशूली–बेत्रावती–मैलुङ–स्यफ्रुबेँसी–रसुवागढी सडकअन्तर्गत नुवाकोटको मैथली खोलामा सडक अवरुद्ध भएको छ।
सोही राजमार्गको रसुवाको त्रिशूली खोला, सानो भार्खु खोला र सानो गाँजाबारी भन्ने ठाउँमा, डुम्रे–बेँसीसहर–चामे सडकअन्तर्गत अर्खले र रामबजार, मनाङको बगरछाप, धारापानी र तिमाङ खोला, तिमाङ छहरा भन्ने ठाउँमा सडक अवरुद्ध रहेको विभागले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।