फाइल तस्विर
काठमाडौं– मेलम्ची खोलामा आएको बाढीले निरन्तर कटान गरेपछि मेलम्ची हेलम्बु सडक निर्माण अनिश्चित बनेको छ।
गत असार १ गतेपछि आएको बाढीले भत्काएको सडक पटक पटक बनाएर यातायात सञ्चालन गरे पनि निरन्तरको बाढी र कटानले गर्दा सडक पुनः अवरुद्ध भएको छ। सडक सञ्जाल नहुँदा मेलम्चीदेखि माथिल्लो भेगका नागरिकले सास्ती भोग्न परेको छ। सडक नहुँदा पुल निर्माण समेत बाधा पुगेको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताए।
आगामी दसैंसम्ममा अस्थायी आवास निर्माणको काम सक्ने र प्रभावितलाई स्थानान्तरण गर्ने गाउँपालिकाका योजनामा समेत अहिलेको बाढीले प्रभाव पारेको छ। निरन्तरको वर्षाका कारण अहिले पनि मेलम्ची खोलामा बाढी आउँदा हेलम्बुदेखि सिपाघाटसम्मका नदी किनारका बस्ती जोखिममा परेका छन्।
आइतबारमात्रै पनि मेलम्ची नगरपालिका–६ तालामाराङ बजार नजिकैको एक घर बाढीले क्षति पुर्याएको थियो।
बाढीले वितण्डा मच्चाएको हेलम्बु मेलम्चीमा अहिले पनि जोखिम कायमै रहेको छ। मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्यालले नदी किनारको बस्तीमा बसोबास गर्नेलाई सुरक्षित स्थानमा बस्न र सतर्कता अपनाउन आग्रह गरिएको बताए।
गत शुुक्रबारदेखिको लगातारको वर्षाले हेलम्बुको तिम्बुदेखि मेलम्ची–११ को बजारसम्म खोला वारिपारि रहेका घर, टहरा, पुल, खेत तीन विद्यालय जोखिममा छन्। अहिले खेतीयोग्य सयौं रोपनी बाढीले कटान गरिरहेको छ।
जिल्ला प्रहरी कार्यालयको तथ्यांकअनुसार यस वर्ष बाढीपहिरोका कारण २७२ पक्की घर, १८५ कच्ची घर, ६६ गोठ टहरा, अन्य ५२ घरमा क्षति पुगेको छ। निरन्तरको वर्षासँगैको बाढीका कारणसात वटा पक्की र १५ झोलुंगे पुलमा क्षति भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।