काठमाडौं– काठमाडौंका दोहोरी साँझ तथा रात्रिकालीन व्यवसायीहरुले प्रमुख जिल्ला अधिकारी (सीडीओ)लाई साँचो बुझाएका छन्।
कोरोना महामारीका कारण धरासायी बनेको व्यवसाय सञ्चालनका लागि सरकारले कुनै पहल नगरेको भन्दै दोहोरी साँझ र रात्रिकालीन व्यवसायीहरुले काठमाडौंका सीडीओलाई आइतबार साँचो बुझाएका हुन्।
व्यवसायी तथा यस क्षेत्रमा आवद्ध कलाकार र श्रमजीवि मजदुरहरूको रोजगारीको सुनिश्चितताका लागि आफूहरुले धेरैपटक सरकारको ध्यानाकर्ष गराए पनि सरकारले कुनै चासो नदिएको व्यवसायीहरुको भनाइ छ।
दोहोरी साँझ र रात्रिकालीन व्यवसायी सञ्चालन तथा व्यवस्थापन समितिले सीडीओलाई साँचोसहित बुझाएको पत्रमा अघोषित रुपमा अन्य सबैजसो व्यवसाय तथा क्षेत्रहरु चलायमान अवस्थामा रहेपनि रात्रिकालीन मनोरञ्जन व्यवसायलाई भने अझै पनि सरकाले कुनै चासो नदेखाएको गुनासो गरिएको छ।
'अघोषित रुपमा अन्य सबैजसो व्यवसाय तथा क्षेत्रहरु हाल चलायमान अवस्थामा छन्, तर हाम्रो यस रात्रिकालीन मनोरञ्जन व्यवसायलाई भने अझै पनि सरकाले कुनै चासो देखाएको पाइएन। त्यसैले आज हामी बाध्य भएर हाम्रो व्यवसाय तथा यस क्षेत्रमा कार्यरत सम्पूर्ण कर्मचारीहरुको भविष्यको जिम्मा नै सरकारलाई सुम्पिनको निमित्त व्यवसायको चाबीसहित यहाँ उपस्थित भएका छौं,' सीडीओलाई बुझाइएको पत्रमा भनिएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।