काठमाडौं- नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल र नेपाल उद्योग परिसंघ (सीएनआई)बीच द्विपक्षीय सम्बन्ध विस्तारबारे छलफल भएको छ। नाडाका अध्यक्ष कृष्णप्रसाद दुलाल नेतृत्वको प्रतिनिधिमण्डलले आइतबार परिसंघका पदाधिकारीसँग छलफल गरेको हो।
प्रतिनिधिमण्डलले परिसंघका नवनिर्वाचित अध्यक्ष विष्णुकुमार अग्रवाललाई कार्यकाल सफलताको शुभकामना दिँदै द्विपक्षीय सम्बन्ध विस्तारका सम्बन्धमा विस्तृत छलफल गरेको नाडाले जानकारी दिएको छ।
भेटका क्रममा नाडाका अध्यक्ष दुलालले दुई संस्थाबीचको पारस्परिक सम्बन्धलाई थप सुदृढ बनाउने, नेपालको निजी क्षेत्रको सवालमा ऐक्यबद्ध भएर अघि बढ्ने र अन्य सम्भाव्य क्षेत्रहरुमासमेत सहकार्य गरेर अघि बढ्नुपर्ने बताएका थिए। उनले नाडाले सातवटै प्रदेशमा प्रदेशस्तरीय एसोसिएसनहरु स्थापना गरिसकेको र नेपालमा अटोमोबाइल उद्योगसमेत खोल्न सुरुआत भइसकेको बताए।
परिसंघका अध्यक्ष अग्रवालले नेपालमा अटोमोबाइल व्यवसायले ठूलो क्षेत्र ओगटेको बताए। परिसंघले नेपालमा उद्योग व्यवसायको विस्तारका लागि पहल गरिरहेको र यसबाट पुँजी निर्माणमा ठूलो सहयोग पुग्ने उनको भनाइ थियो। उद्योग स्थापनाका लागि सरकारका तर्फबाट गरिनुपर्ने सहयोगका सम्बन्धमा समेत उनले चर्चा गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।