काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले जल तथा ऊर्जा आयोगलाई जलस्रोतको अध्ययन अनुसन्धानसहित सो क्षेत्रको नियमनकारी निकायका रूपमा पनि विकास गरेर लैजानुपर्ने बताएकी छन्।
जल तथा ऊर्जा आयोगको सचिवालयको गतिविधिबारे आज जानकारी लिने क्रममा उनले भनिन्, 'आयोगलाई नियमनका अधिकार दिनुपर्छ भन्नेमा म सहमत छु।' कुनै पनि निकायले आफ्नो क्षेत्राधिकारभित्र रहेर कुशलतापूर्वक काम गर्नुपर्नेमा जोड दिँदै उनले आयोगलाई जनशक्ति एवं आर्थिक स्रोत उपलब्ध गराएर कामका हिसाबले मूर्तरुप दिइने बताइन्।
भूमिगत एवं सतहका जलस्रोत, आयोगको क्षेत्र भएको उल्लेख गर्दै मन्त्री भुसालले नीतिगतरूपमा अध्ययन, अनुसन्धान र कार्यान्वयनका निकायहरू निर्धारित मूल्यमान्यताभित्र छन् कि छैनन् भन्ने अनुगमन गरेर त्यसको नियमन गर्ने विषयलाई सबै ढङ्गले व्यवस्थित गराउनुपर्नेमा जोड दिइन्।
'स्रोत भएकाले लगानी गर्नु ठीक छ तर आफैं उत्पादक बन्नु उचित हो कि होइन भन्ने विषयको गम्भीर समीक्षा गर्नुपर्छ,' उनले भनिन्, 'सबैलाई स्रोत परिचालन गर्ने रहर छ। आर्थिक स्रोत भएकाले लगानी गरे पनि उत्पादन गर्ने एउटै निकाय हुनुपर्छ।' आर्थिक स्रोत सबल भएका निकायले जलविद्युत् क्षेत्रमा लगानी गर्न तत्परता देखाएकाप्रति मन्त्री भुसालले भनिन्, 'स्रोत र साधन चलाउने रहरमात्र गरेर हुँदैन दक्षता पनि हासिल गर्नुपर्छ।'
ऊर्जासचिव देवेन्द्र कार्कीले नीतिअनुसार ऐन, नियमलगायत संरचना बनाएर आयोगलाई सवल बनाउनुपर्ने बताइन्।
जलस्रोत तथा सिँचाइ सचिव सागरकुमार राईले सरकार र निजी क्षेत्रबाट प्राकृतिक स्रोतमा सङ्कट पैदा हुँदै गएकाले आयोगलाई नियमनकारी निकायका रूपमा विकास गर्नुपर्ने बताए। त्यस्तै आयोगको सचिवालयका सचिव मणिराम गेलालले ऊर्जा तथा जलस्रोत आयोगलाई कानुनीरूपमा सवल बनाउनुपर्नेमा जोड दिए।
आयोगले प्राविधिक, नीतिगत र राष्ट्रिय एवं अन्तर्राष्ट्रिय कानुनी विषयमा व्यापक विश्लेषण गरी सरकारलाई निर्णय लिन सहयोग गर्दै आएको छ। सो अवसरमा बेरुजु फर्स्योटमा महत्त्वपूर्ण योगदान गर्ने कर्मचारीलाई सम्मान गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।