काठमाडौं– पुनः मनसुन सक्रिय भएसँगै देशका अधिकांश स्थानमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। वर्षा भएसँगै आज मझौला नदीहरु सबैमा बहाब उल्लेख्य बढ्ने विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।
आज नारायणी र यसका सहायक नदीसँगै कमला, बागमती, पूर्वी राप्ती, तिनाउ, पश्चिम राप्ती, बबई लगायतमा बहाब बढ्ने जनाइएको छ।
त्यसैगरी, लुम्बिनी आसपासमा अत्यधिक वर्षा भएकाले कपिलबस्तुको बाणगंगाका साथै गुडुङलगायत स–साना नदीहरुमा आकस्मिक बाढी आउन सक्ने जनाइएको छ।
आज बिहानको मापन अनुसार कोशी, नारायणी, कर्णाली, महाकाली नदीहरुमा बहावमा बढ्दो क्रममा रहेको छ। बागमतीको पधेरादोभान जलमापन केन्द्रमा जलसतह खतरा तह पुगेको र बढ्दो क्रममा रहेको छ।
आज नारायणी र यसका सहायक नदीहरुमा बहाव उल्लेख्य बढ्ने र केहीमा सतर्कता तह पार गर्न सक्ने कर्णाली, महाकाली र यिनका सहायक नदीहरुमा बहाव बढ्ने र केहीमा सतर्कता तह आसपास पुग्न सक्ने सम्भावना रहेको छ। कोशी र यसका सहायक नदीहरुमा बहाव सामान्य बढ्ने तथा सतर्कता तह भन्दा तल रहने पूर्वानुमान छ। मझौला नदीहरु सबैमा बहाब उल्लेख्य बढ्ने छ।
नदीहरुका तटीय क्षेत्र तथा डुवान भइरहने क्षेत्रहरूमा सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।