काठमाडौं– नेपाली कांग्रेसले १४औं महाधिवेशनको लागि केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिले कार्यसम्पन्न गरेका थप पाँच जिल्लाका क्रियाशील सदस्यको नामावली प्रकाशित गरेको छ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिले निर्वाचन निर्देशिका २०७८ को दफा १ (ख) बमोजिम शनिबार नुवाकोट, धादिङ, चितवन, ललितपुर र अर्घाखाँचीको क्रियाशील सदस्यको नामावली पार्टीको वेभसाइटमा प्रकाशित गरेको हो।
क्रियाशील सदस्यताको नामावली प्रकाशित भएका सम्बन्धित जिल्लामा जिल्ला निर्वाचन अधिकृतलाई समेत खटाइएको निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले जानकारी दिए।
समितिले यसअघि बिहीबार ३८ जिल्ला र शुक्रबार १० जिल्लाका गरी कुल ४८ जिल्लाका क्रियाशील सदस्यको नामावली प्रकाशित गरेको थियो।
क्रियाशील सदस्यताको नामावली प्रकाशित गरेसँगै यही भदौ १८ गते तोकिएको वडा अधिवेशनका लागि नेता कार्यकर्ता अधिवेशनमा केन्द्रित देखिएका छन। नवीकरण र नयाँ गरी करिब नौ लाखको सङ्ख्यामा रहेका कांग्रेस क्रियाशील सदस्य पार्टीको गाउँ/नगर वडा अधिवेशनका मतदाता हुन्।
कांग्रेसले १४औँ महाधिवेशनअन्तर्गत गाउँ/नगर वडा अधिवेशन यही भदौ १८ गते, गाउँ/नगरपालिका अधिवेशन भदौ २७ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन आगामी असोज १ गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन/एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज ५ गते तोकेको छ।
यसैगरी कांग्रेसले एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १० गते, प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्म र केन्द्रीय महाधिवेशन आगामी मङ्सिर ९ देखि १३ गतेसम्म तय गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।