काठमाडौं– केही दिन अगाडिबाट सक्रिय रहेको मनसुन शनिबारदेखि केही कमजोर हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
न्यून चापीय रेखा शुक्रबार रातिदेखि केही तल सरेसँगै मनसुनी गतिविधिको प्रभाव अलि कम हुने भएको हो। शनिबारदेखि नेपालको पूर्वी भागबाट मौसम क्रमिक सुधार हुँदै जाने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले बताए।
‘मौसममा सुधार हुने भनेर पानी नै नपर्ने हुँदैन, मनसुनको समय अझै बाँकी छ,’ उनले भने, ‘विगत केही दिन अगाडिको जस्तै लगातारको झरी भने कम हुनेछ।’
देशभर सामान्यदेखि पूर्ण बदली रही हल्कादेखि मध्यम र केही स्थानमा भारी वर्षाको सम्भावना कायमै रहनेछ। हाल बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भू–भागमा सामान्य बदली रहेको छ। त्यस्तै प्रदेश नं १, बागमती, गण्डकी तथा कर्णाली प्रदेशका धेरै स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम खालको वर्षा भइरहेको छ।
जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशको अधिकांस भू-भागमा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ भने केही स्थानमा धेरै भारी वर्षाको सम्भावना छ।
प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी/धेरै भारी र बाँकी प्रदेशका एक-दुई स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।
शनिबार राति धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बाग्मती, गण्डकी, लुम्बिनी , कर्णाली तथा सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।