काठमाडौं- आफूलाई सामाजिक अभियन्ताका रुपमा चिनाउने व्यक्तिहरुले विभिन्न मुद्दामा बिना अध्ययन र तथ्यबिना बोल्ने गरेको सरोकारवालाहरुले औंल्याएका छन्। अभियन्ता बन्नेको होडबाजीले समाजमा नकारात्मक प्रभाव परेको उनीहरुको भनाइ छ।
ग्लोबल युथ पार्लियामेन्टले आज आयोजना गरेको कार्यक्रमका सहभागीहरुले यस्तो बताएका हुन्। उनीहरुले सामाजिक सञ्जालमा 'भाइरल' बन्ने नाममा स्वघोषित अभियन्ताहरुले कतिपय मुद्दामा बिना अध्ययन र तथ्यबिना बोल्ने गरेको बताए। औसत मान्छेलाई 'इमोसनल ब्लाकमेल' गरेर हुलहुज्जत मात्र गरेको देखिएको उनीहरुले बताएका छन्। विरोधको पछाडि प्रमाणित तर्क, त्यसको विकल्प र समाधन दिनेभन्दा पनि आफू 'पपुलर' बन्न चर्को विरोध गर्ने र कूतर्क प्रस्तुत गर्ने सहभागीहरुको भनाइ थियो।
कार्यक्रममा बोल्दै पत्रकार टीकाराम यात्रीले अभियन्ताहरुले प्राप्तिको आकांक्षा नराखी काम गर्न सके समाजलाई लाभ पुग्ने भए पनित त्यस्तो नदेखिएको बताए।
नायिका रेखा थापाले विगत लामो समयदेखि युवालाई राजनीतिक दलले प्रयोगमात्र गरेको र उनीहरुको व्यक्तित्व निर्माणमा बेवास्ता गरेकाले आज समाजमा त्यसको असर देखिएको बताइन्।
पत्रकार राजन कुइँकेलले सामाजिक अभियानको नाममा अभियन्ताहरुले आफू 'पपुलर' हुन गलत सूचनाको समेत साहारा लिने गर्दा समाजमा विग्रह ल्याउने खतरा औंल्याए। पार्लियामेन्टका अध्यक्ष दिवाकार अर्यालले विषयवस्तुमाथि राम्रो ज्ञान नराखी प्रचारका लागि मात्र गरिने कामले समाजलाई गलत बाटोमा हिँडाउने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।