काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले प्रकृतिमैत्री जीवनशैली अनुसरण गरी जलवायु परिवर्तनको प्रभाव न्यून गर्दै लैजानुपर्नेमा जोड दिएकी छन्। विश्वव्यापी जलवायु परिवर्तनका कारण नेपालको जैविक विविधता तथा हिमालय क्षेत्रको प्राकृतिक सन्तुलनमा चिन्ताजनक प्रभाव परेको उनले उल्लेख गरिन्।
जलवायु परिवर्तनका विषयमा शुक्रबार आयोजना भएको कार्यक्रममा राष्ट्रपतिले नेपाल आफैं जलवायु परिवर्तनमा योगदान गर्ने राष्ट्र नभएता पनि यसबाट उत्पन्न गम्भीर प्रभाव भोग्ने राष्ट्रहरूको माथिल्लो सूचीमा रहनु चिन्ताको विषय भएको बताइन्।
राष्ट्रपति कार्यालय, महाराजगन्जमा आयोजना भएको उक्त कार्यक्रममा राष्ट्रिय प्रकृति संरक्षण कोषको तर्फबाट कोषले गर्दै आएका वन्यजन्तु संरक्षणसम्बन्धी नियमित गतिविधि तथा विश्वव्यापी जलवायु परिवर्तनको अवस्थाबारे अन्तरसरकारी समिति (आईपीसीसी)ले हालै प्रकाशित गरेको प्रतिवेदनमाथि अलग-अलग प्रस्तुतिहरू राखेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपतिले भण्डारीले भनिन्, 'कार्बन उत्सर्जनद्वारा विश्वव्यापी तापमान वृद्धि गर्न नेपालको भूमिका छैन। तर, तापमान वृद्धिकै कारण नेपालका हिमालहरू पग्लिने क्रम बढ्ने, वर्षातको प्रवृत्तिमा परिवर्तन आउँदा बाढी र भूक्षयका घटनाहरू बढ्ने लगायतका प्रभावको हामीले सामना गर्नु परिरहेको छ।'
जलवायु परिवर्तनका विविध पक्षलाई मध्यनजर गरी यसका नकारात्मक एवं आकस्मिक प्रभावबाट जनताको सुरक्षा गर्न नेपालले पर्वतीय तथा अल्पविकसित राष्ट्रका रूपमा भोगिरहेका समस्यालाई विश्वमन्चमा बलियो गरी उठाउनका लागि सबै सरोकारवाला पक्षको राष्ट्रपतिले ध्यानाकर्षण गराएकी थिइन्। सार्वजनिक यातायातदेखि नागरिकको भान्सासम्म नवीकरणीय ऊर्जाको उपयोगमा जोड दिइ पेट्रोलियम पदार्थको आयातलाई प्रतिस्थापन गर्न सके वातावरण संरक्षणमा उल्लेखनीय योगदान पुग्ने विश्वाससमेत राष्ट्रपतिले सो अवसरमा व्यक्त गरेकी थिइन्।
कार्यक्रममा राष्ट्रिय प्रकृति संरक्षण कोषका अध्यक्ष डा. कृष्णप्रसाद ओलीले कोषका गतिविधिका साथै जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण गर्न नेपालको राष्ट्रिय प्रतिबद्धताका विभिन्न पक्षमा प्रकाश पारेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।