सुर्खेत- अविरल वर्षापछिको बाढी पहिरोले कर्णाली राजमार्ग र करिडोरका विभिन्न क्षेत्र अवरुद्ध भएको छ। कर्णाली करिडोर अन्तर्गत कालिकोटको सान्नित्रिवेणी गाउँपालिका–१ कोटमा पहिरो जाँदा पूर्ण रुपमा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ।
सान्नित्रिवेणी गाउँपालिका-१ कोटमा सबैभन्दा ठूलो पहिरो गएको र अहिले प्रहरी तथा स्थानीय तहको पहलमा डोजरले पन्छाएर खुलाउने प्रयास भइरहेको सान्नी त्रिवेणी गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर शाहीले जानकारी दिए।
कर्णाली राजमार्गको दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ चिसाखोला, डुङगेश्वर गाउँपालिका–६ र गुराँस गाउँपालिका–४ को सालताडामा पनि पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-१३ राउटे गल्छिनामा पहिरोले रातानाङलाबाट-धरमपोखरा दैलेख जाने सडकखण्ड अवरुद्ध भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी माधवप्रसाद श्रेष्ठले जानकारी दिए। ‘वर्षातका कारणले कर्णाली राजमार्ग विभिन्न ठाउँमा अबरुद्ध भएको छ,’ उनले भने, ‘अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको छ ।'
त्यस्तै, दैलेखको दुल्लु नगरपालिका–१३ गौडामा पहिरोका कारणले एक घर भत्किएको छ । जगतबहादुर भण्डारीको २ तले ४ कोठे कच्ची घर बर्षाको कारणले भत्किएको प्रहरीले जनाएको छ।
घर भत्किँदा अन्नपात, लत्ताकपडा, भाडावर्तन पुरिनुका साथै दुई वटा बाख्रा घरले च्यापिएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।