काठमाडौं- संवैधानिक परिषदले गरेका नियुक्तिहरु बदर गर्न माग गर्दै परेका रिटमाथिको आजको बहस सकिएको छ।
पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा जारी भएको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश र त्यसको आधारमा नियुक्त पदाधिकारीविरुद्ध परेको रिटमाथि शुक्रबार संवैधानिक इजलासमा जारी बहस सकिएको हो।
प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणालाई समेत विपक्षी बनाइएको मुद्दा भएकाले उनी बस्न नमिल्ने तर्क बहसका क्रममा अधिवक्ता ओमप्रकाश अर्यालले गरेपछि राणाले सवाल जवाफ गरेका थिए।
त्यसक्रममा राणाले आफू संवैधानिक जिम्मेवारीले संवैधानिक परिषद्को बैठकमा सहभागी भएको बताए।अधिवक्ता अर्यालले राणामाथि प्रश्न उठाएपछि उनले आफू संवैधानिक जिम्मेवारीका कारण बैठकमा गएको बताएका हुन्।
संवैधानिक परिषद्मा बसेर नियुक्तिमा भागबण्डा लिएको भन्दै प्रधानन्यायाधीश राणालाई इजलास छाड्न बहसमा सुझाव आएसँगै प्रधानन्याधीश राणा रिसाए। इजलासमा राणाले भने, 'भागवन्डा शब्द परिमार्जन गर्नुस्। तपाईंले कसले कसरी नियुक्ति भयो भनेर आरोप लगाउन मिल्दैन। कसले भाग लियो यो मुख्य कुरा होइन।'
राणा इजलासमा बस्न हुने नहुनेबारे बहस चलेपछि न्यायाधीशहरु उठेर हिँडेका थिए।
संवैधानिक इजलासमा प्रधानन्यायाधीश बस्ने नबस्ने कुरा छलफल गर्ने भन्दै न्यायाधीशहरु उठेसँगै आजको बहस विषय प्रवेश नै नगरि सकिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।