काठमाडौं– दक्षिण अमेरिकी देश पेरूमा सैनिक बोकेको हेलिकोप्टर दुर्घटना हुँदा आठ सैनिकको मृत्यु भएको छ। दुर्घटनामा हेलिकोप्टरका पाइलट भने जीवितै उद्धार गरिएको छ।
बीबीसीका अनुसार बिहीबार राति हेलिकोप्टर सम्पर्कविहीन भएको थियो। त्यसअघि उक्त हेलिकोप्टरले सेनाका तीन जना जवानको उद्धार गरेको थियो।
पेरुको रक्षा मन्त्रालयका अनुसार हेलिकोप्टर अपुरिम्याक, एने र मन्टारो नदीको उपत्यकामा पर्ने सनाबाम्बा सहरनजिक दुर्घटनाग्रस्त भएको हो। उक्त क्षेत्रलाई ‘भ्राएम’ (VRAEM) भनेर चिनिन्छ।
सेनाको गस्ती टोलीलाई सुरक्षित स्थानमा निकाल्ने अभियानका क्रममा हेलिकोप्टर दुर्घटनामा परेको अधिकारीहरूले बताएका छन्। खोजी तथा उद्धार अभियानका क्रममा हेलिकोप्टर र त्यसमा सवार सैनिकहरू फेला परेका थिए।
उक्त क्षेत्र लागूऔषध उत्पादन तथा तस्करीका लागि कुख्यात मानिन्छ। यहाँ कोका खेती व्यापक हुने भएकाले यसलाई ‘कोकिन उपत्यका’ समेत भनिन्छ। लागूऔषध तस्करीमा संलग्न समूहका साथै पूर्वविद्रोही संगठन ‘साइनिङ पाथ’का बाँकी सदस्य पनि यस क्षेत्रमा सक्रिय रहेको बताइएको छ।
दुर्घटना के कारणले भएको हो भन्नेबारे खुलेको छैन। उद्धार गर्नुपर्ने अवस्था आएका तीन सैनिक पनि दुर्घटनामा मृत्यु हुनेमा परेको अधिकारीहरूले पुष्टि गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।