काठमाडौं– केही दिन अगाडिबाट सक्रिय रहेको मनसुन शनिबारदेखि केही कमजोर हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। न्यून चापीय रेखा आज (शनिबार) रातिदेखि केही तल सर्ने भएकाले मनसुनी गतिविधिको प्रभाव अलि कम हुने भएको हो।
शनिबारदेखि नेपालको पूर्वी भागबाट मौसम क्रमिक सुधार हुँदै जाने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले बताए।
‘मौसममा सुधार हुने भनेर पानी नै नपर्ने हुँदैन, मनसुनको समय अझै बाँकी छ,’ उनले भने, ‘विगत केही दिन अगाडिको जस्तै लगातारको झरी भने कम हुनेछ।’
देशभर सामान्यदेखि पूर्ण बदली रही हल्कादेखि मध्यम र केही स्थानमा भारी वर्षाको सम्भावना कायमै रहनेछ। हाल बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भू–भागमा सामान्य बदली रहेको छ। त्यस्तै प्रदेश नं १, बागमती, गण्डकी तथा कर्णाली प्रदेशका धेरै स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम खालको वर्षा भइरहेको छ।
देशका अधिकांश भू–भागमा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना साथै प्रदेश नं १, २, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका केही र सुदूरपश्चिम तथा कर्णाली प्रदेशका एक/दुई स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना रहेको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।