काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघले लगानीकर्ताहरूसँग आबद्ध हुन इच्छुक नवप्रवर्तनीय (स्टार्टअप) उद्यमीहरूका लागि लक्षित गरी ल्याएको '५० स्टार्टअप-५०' लगानीकर्ता कार्यक्रममा सहभागी हुनका लागि आवेदन दिने समय पुनः खुला गरेको छ।
कार्यक्रममा अनलाइन आवेदन गत वैशाख ४ गतेदेखि खुला गरिएको थियो। ५० स्टार्टअप-५० लगानीकर्ता कार्यक्रम महासंघको स्टार्टअप एण्ड इनोभेसन समितिको पहलमा ल्याइएको हो।
कोभिड महामारीका कारण धेरै स्टार्टअप उद्यमीहरूलाई समेट्न नसकिएकाले मुलुकभरबाट बढीभन्दा बढी नवप्रवर्तनीय उद्यमीहरूको सहभागिता हुन सकोस् भन्ने उद्देश्यले आवेदन दिने समय पुनः खुला गरिएको महासंघले जानकारी दिएको छ। यसअघि आवेदन दिई सकेकाले पुनः आवेदन दिनुपर्ने छैन। आवेदक फाराम भरिसकेपछि महासंघबाट इमेलमार्फत् सम्पर्क गरिने जनाएको छ।
महासंघका अनुसार आवेदन सबै क्षेत्र (कृषि, उत्पादनमुलक, सूचना प्रविधि, सेवा) का लागि दिन सकिनेछ। उक्त आवेदन प्रक्रियालाई पुनः खुला गरी कार्यक्रममा मुलुकभरबाट बढीभन्दा बढी स्टार्टअप उद्यमीहरूको सहभागिता बढाउने कार्यमा सहयोग गर्न महासंघले आफ्ना सातवटै प्रदेश च्याप्टरहरूलाई आग्रह गरेको छ।
लगानीकर्ताहरूको व्यावसायिक अभिरूचीसँग छनोट भएर आउने स्टार्टअपहरूलाई मिलान गराइ फलदायी सहकार्यका लागि सहजीकरण गर्ने कार्यमा स्टार्टअप समितिले सहयोग गर्ने महासंघको भनाइ छ।
नवप्रवर्तनीय वस्तु, सेवा वा प्लेटफर्मको परिवेश वा उपयोगमा सम्भाव्य व्यावसायिक मोडेलको स्थापना/स्तरोन्नति गर्ने प्रक्रियामा रहेका उद्यम वा व्यवसायहरूको लागिसमेत यो आवेदन गरिएको हो। एक वर्षभन्दा बढी समय अघिदेखि सञ्चालनमा आइरहेका र कम्तीमा पनि एक वर्षको लेखापरीक्षण प्रतिवेदन भएका, कानुनी रुपमा दर्ता भएका व्यवसाय आवेदनका लागि योग्य मानिने छन्। आफ्नो व्यवसायमा सीप, ज्ञानको आधार र दह्रो प्रतिबद्धता प्रदर्शन गर्नसक्ने सशक्त समूहले यसमा आवेदन दिन सक्ने महासंघले जनाएको छ।
आवेदनका साथ कम्पनी दर्ता प्रमाणपत्रको प्रतिलिपि तथा कम्पनीको विधान (प्रबन्धपत्र, मेमोरेन्डम अफ एसोसिएसन, आर्टिकल अफ एसोसिएसन र सम्बन्धित अन्य रजिस्ट्रेनहरू, प्यान/भ्याट दर्ता, कर चुक्ता प्रमाणपत्र, कम्पनीको सञ्चालक समितिको माइन्युट, कम्पनीका प्रवर्द्धक/संस्थापकहरूको बायोडाटालगायतका आवश्यक दस्तावेजहरू संलग्न हुनुपर्ने महासंघले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।