काठमाडौं– पर्साको वीरगञ्ज नगरपालिकाअन्तर्गतको जगरनाथपुर टोलमा रहेको सर्वोत्तम स्टील उद्योगमा बिस्फोट भएको छ। बिस्फोटबाट १५ जना घाइते भएका पर्साका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) बेलबहादुर पाण्डेले नेपाल लाइभलाई जानकारी दिए।
गम्भीर घाइते भएका ६ जनालाई उपचारका लागि भारतको पटना लगिएको छ। बाँकी ९ जनाको भने नारायणी बयोदा अस्पतालमा उपचार भइरहेको एसपी पाण्डेले बताए।
पटना पठाइनेहरुमा भारत बिहारका ५२ वर्षीय बिनोद पाण्डे, भारत युपीका ५२ वर्षकै सन्तोष कुशवाह, लखनउकै ३७ वर्षीय मानस परिदा, सोही ठाउँका ३० वर्षीय रामपुकार यादव, ठेगाना नखुलेका २७ वर्षीय गगन नायक र भारत खुशीनगरका ३५ वर्षीय धिरु सहनी छन्। उनीहरुलाई दिउँसो ५ बजे उपचारका लागि पटना पठाइएको हो ।
त्यसैगरी बयोदामा उपचार हुनेमा भारत युपीका २० वर्षीय सुशील कुमार, बारा छातापिपराका २२ वर्षीय टिंकु दास, ठेगाना नखुलेका २६ वर्षीय चिंकु दास, भारत लखनउका १८ वर्षीय अमरनाथ सहनी, भारत बिहारका २१ वर्षीय दीपक कुमार, बिहार दरभंगाका १८ वर्षीय रविकुमार दास, बिहार छपराका २२ वर्षीय अवधेश कुमार यादव, सोही ठाउँका २२ वर्षीय निकु कुमार यादव र भारत बिहार सिवानका ३० वर्षीय अरुण कुमार छन्।
बिहीबार दिउँसो पौने १ बजे उक्त फ्याक्ट्रीको भट्टीमा फलाम पगाल्ने क्रममा पगालेको फलाम लिक भइ आगलागी तथा बिस्फोट भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।