काठमाडौं– काठमाडौं उपत्यकाको फोहोर अझै केही दिन नउठ्ने भएको छ। बञ्चरेडाँडामा निर्माणाधीन दीर्घकालीन ल्यान्डफिल साइटको पहिलो ‘सेल’ निर्माणको काम सक्न अझै १ हप्ता लाग्ने हुँदा फोहोर व्यवस्थापनमा थप ढिलाइ हुने महानगरले जनाएको छ।
सिसडोल पार गरेर मात्रै बञ्चरेडाँडा पुग्नुपर्ने भएकाले थप समस्या भएको शहरी विकास मन्त्रालयका सूचना अधिकारी सुरेशकुमार वाग्लेले जानकारी दिए। लामो समयदेखि फोहोर व्यवस्थापन गरिँदै आएको सिसडोलमा व्यवस्थापन गरिएकाले उक्त फोहोरको ढिस्को पार गरेर अहिले बञ्चरेडाँडामा गाडी जान सक्ने अवस्था नरहेको उनको भनाइ छ।
‘त्यसका लागि पहिले सडक विभाग र काठमाडौं महानगरपालिकाले समन्वय गरेर सिसडोल पार गर्ने पुल निर्माणको काम गर्नुपर्छ, अन्यथा समस्या समाधान हुन कठिन छ,’ वाग्लेले भने । विगत केही दिनदेखि काठमाडौं उपत्यकाको फोहोर नियमित रूपमा उठ्न सकेको छैन। गत साउन ३२ देखि नै कामपाले सार्वजनिक रूपमा सूचना जारी गरेर नगरवासीलाई १ हप्ता घरबाहिर फोहोर ननिकाल्न आग्रह गरेको थियो।
फोहोर व्यवस्थापन हुन नसक्दा गर्दा सडक छेउछाउमा दुर्गन्ध फैलिन थालिसकेको छ । सहरी विकास मन्त्रालयले समयमा नै दीर्घकालीन ल्यान्डफिल साइट निर्माणको काम सम्पन्न नगर्दा थप समस्या भएको कामपा वातावरण विभागका प्रमुख हरिकुमार श्रेष्ठले बताए।
सिसडोलमा विसं २०६२ मा २ वर्षको मात्र फोहोर व्यवस्थापन गर्न सकिने क्षमताको ल्यान्डफिड निर्माण गरिएको थियो। तर, पटकपटक त्यसैमा माटोले पुर्दै केही विस्तार गरेर अहिलेसम्म नै फोहोर व्यवस्थापन गरिँदै आइएको छ।
उपत्यकाबाट दैनिक १२ मेट्रिक टन फोहोर सिसडोलमा व्यवस्थापन हुँदै आएको छ। यसमध्ये सबैभन्दा बढी कामपाको मात्र ५०० मेट्रिक टन फोहोर निस्किने गर्छ । निजी र कामपाको गरी दैनिक कम्तीमा २०० गाडी फोहोर लाने गरिएकामा अहिले ५० गाडीमात्र सिसडोल पुग्ने गरेका छन्।
हाल फोहोर व्यवस्थापन गरिँदै आएको सिसडोलभन्दा दुई किलोमीटर टाढा बञ्चरेडाँडामा दीर्घकालीन फोहोर व्यवस्थापनस्थल निर्माण गरिएको छ।
बञ्चरेडाँडामा स्यानिटरी ल्यान्डफिल साइट निर्माण गर्न विसं २०७६ वैशाख २२ गते १ वर्षभित्र काम सम्पन्न गर्ने गरी लुम्बिनी कोशी एन्ड न्यौपाने जेभी (उपक्रम) सँग ठेक्का सम्झौता गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।