फाइल तस्बिर
काठमाडौं– नेपालमा यो वर्षको मनसुन भित्रिएपछि विभिन्न ६० जिल्लामा बाढीपहिरोलगयतले क्षति पुगेको छ।
राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दुई महिनाको मनसुनी विवरण सार्वजनिक गर्दै उक्त जानकारी दिएको हो।
प्राधिकरणका अनुसार यो वर्ष हालसम्म ४५१ वटा विपतका घटना भएका छन्। मनसुन सुरु भएयता ६० जिल्लामा पाँच हजार ११८ जना बासिन्दा विस्थापित भएको प्राधिकरणको तथ्यांक छ।
सिन्धुपाल्चोकमा लेदोसहितको बाढी, मनाङमा पहिरो तथा बाढी, बाजुरामा पहिरो र गोर्खा एवं लमजुङको बाढी तथा पहिरो यस वर्षको विपतका ठूला घटना रहेको र ती जिल्लामा सर्वाधिक क्षति पुगेको प्राधिकरणको भनाइ छ।
यस अवधिमा बाढीका ८२ घटनामा परेर २९ जनाको मृत्यु भएको छ भने २८ जना बेपत्ता भएका छन्। बाढीमै परेर आठ जना घाइते भएका छन्। देशभर विभिन्न स्थानमा गएको १८९ पहिरोमा परी ४० जनाको मृत्यु भएको छ भने सात जना बेपत्ता छन्। सोही अवधिमा पहिरोमा परेर ५८ जना घाइते भएका छन्।
मनसुनयता भारी वर्षाका १८२ घटना रेकर्ड भएको जनाउँदै प्रधिकरणले वर्षाकै कारण पाँच जनाको मृत्यु र २५ जना घाइते भएको बताएको छ। यस अवधिमा चट्याङ लागेर २० जनाको ज्यान गएको छ ।
प्राधिकरणको विवरणअनुसार ७१३ वटा निजी आवास पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। सडक तथा नदी मार्गमा बनेका २९ वटा झोलुङ्गे पुल र २७ वटा पक्की पुल बाढीले क्षतिग्रस्त बनाएको छ भने बाढीले २५ वटा हाइड्रो पावरमा क्षति पुर्याएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।