काठमाडौं- अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)को नयाँ अध्ययनले नेपालका होटल व्यवसायीले अपाङ्गतामैत्री पूर्वाधार र सेवामा थप लगानी गर्नसके विश्वव्यापीरूपमा बढ्दो सुलभ पहुँचयोग्य पर्यटन प्रवर्द्धन हुने र त्यसले देशको आर्थिक वृद्धिदरसमेत उकास्नसक्ने देखाएको छ।
सबैका लागि खुलाः नेपालका होटेलमा अपाङ्गता भएका व्यक्तिको पहुँचसम्बन्धी एक सर्वेक्षण शीर्षकको अध्ययन प्रतिवेदनले सुलभ पहुँचयोग्य पर्यटन बजार विस्तार गर्नसके देशको अर्थतन्त्र उकासिने बताएको हो। यो अध्ययन प्रतिवेदन नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालसँगको सहकार्य र आईएफसीको आर्थिक तथा प्राविधिक सहयोगमा तयार गरेको हो।
आईएफसीले उक्त अध्ययनका लागि देशको मुख्य-मुख्य सहरका ९० वटा तारे होटल र त्यसमा संलग्न उद्यमी/व्यवसायीलाई समावेश गरेको बताएको छ। जसअनुसार अध्ययनमा सहभागी भएका ९५ प्रतिशत होटल व्यवसयीले पहुँचयोग्य पर्यटनको अवधारणाबारे आफूहरु जानकार रहे पनि त्यस किसिमका पूर्वाधार निर्माणगरी पहुँचयोग्य पर्यटन बजार विस्तार गर्न लगानी भने नगरेको प्रतिक्रिया दिएका थिए।
आईएफसीको अध्ययनले अहिले सञ्चालनमा रहेका अधिकांश होटलमा अपाङ्गता भएका व्यक्तिको आवतजावतका लागि लिफ्ट र भिराला र्याम्प मात्रै रहेको, अध्ययनमा समावेश भएका १७ प्रतिशत होटलले दृष्टिविहीन पाहुनाको सहयोगका लागि सङ्केत चिह्न राखेको देखाएको छ। बाँकी ७४ प्रतिशत होटलले ढोका बाहिर वा कोठाको निर्देशिका पुस्तकमा ब्रेल लिपी वा सङ्केत चिह्नको प्रयोग गरेका छैनन्। अध्ययनले नौ प्रतिशत होटलका कर्मचारी पहुँचयोग्य पर्यटन र विशिष्ट क्षमता भएका पाहुनाबारे प्रशिक्षित रहेका र ३३ प्रतिशत होटलमा अपाङ्गता भएका अतिथिका लागि अतिरिक्त ह्लिचियरको व्यवस्था रहेको देखाएको छ।
साथै, अध्ययनले नेपालका अधिकांश होटलले व्यावसायिक प्रयोजनका लागि पुराना संरचना प्रयोग गर्ने गरेको, यस्ता संरचना दुर्गम स्थानमा रहेका र तिनमा अपाङ्गतामैत्री सेवासुविधासमेत नहुने गरेको र त्यस्ता अपायक स्थानमा अपाङ्गता भएका पाहुना पनि एकदमै कम जाने गरेको उल्लेख गरेको छ। त्यक्तिमात्र नभइ यस अध्ययनमा समावेश भएका अधिकांश होटलले अपाङ्गता भएका व्यक्तिको आवतजावतका लागि चाहिने भिराला र्याम्प निर्माण गर्न, ह्विलचेयर खरिद गर्न तथा अन्य पूर्वाधार बनाउन अतिरिक्त लगानी चाहिने र त्यस्तो लगानी नै समावेशी पर्यटन प्रवर्द्धनको बाधक रहेको देखाएको छ।
पछिल्लो समयमा सुलभ, पहुँचयोग्य वा समावेशी पर्यटनको अवधारणाले विश्वव्यापी मान्यता पाएको चर्चा गर्दै आईएफसीको भुटान, बङ्गलादेश र नेपाल मामिला हेर्ने देशीय निर्देशक वेन्डी वार्नरले भएका पर्यटन गन्तव्यमा अपाङ्ग, अशक्त वा अरु सबै उमेर समूहको पहुँच विस्तार गर्नसके मात्रै पनि पर्यटन क्षेत्रको दिगो विकास हुने बताए। उनका अनुसार सुलभ पर्यटनले मानव अधिकारको सुनिश्चिततासँगै व्यावसायिक अर्थ राख्छ।
विश्व स्वास्थ्य सङ्गठनको अध्ययनले पनि संसारभरका करिब एक अर्ब मानिस कुनै न कुनै प्रकारको अपाङ्गताबाट प्रभावित हुने गरेका देखाएको छ। नेपालका अपाङ्ग अधिकारकर्मीले शारीरिक सीमितता भएका र अपाङ्गता भएका व्यक्तिले पनि संसारभरका पर्यटकीय गन्तव्य भ्रमण गर्ने गरेका र यस्ता पर्यटकको सुविधाको लागि होटलले विशिष्ट खालको पूर्वाधार तयार गर्ने गरेको बताएका छन्। विश्वका आकर्षक पर्यटकीय गन्तव्यस्थलमा सुलभ पहुँचका पूर्वाधार भएका होटल हुन्छन् जसले स्वदेशी तथा विदेशी पाहुनालाई सेवा दिन्छन् र यस्ता ठाउँमा पर्यटकको चाप हुन्छ।
प्रतिवेदनमा राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालका अध्यक्ष मित्रलाल श्रेष्ठले अहिले बर्सेनिरूपमा विश्वभरबाट देशबाट करिब दुई हजार अपाङ्गता भएका पर्यटक नेपाल भ्रमण गर्न आउने गरेका भन्दै सुलभ पर्यटनका सुविधा र अपाङ्गतामैत्री पूर्वाधार बन्नसके यस्ता पर्यटकको सङ्ख्या सहजै बढेर १० हजारसम्म पुग्नसक्ने दाबी गरे।
होटल एसोसिएसन अफ नेपालकी अध्यक्ष सिर्जना राणाले सुलभ पहुँचयोग्य पर्यटन बजार विस्तार गर्ने अवधारणा नेपालका लागी नयाँ प्रयोग हुने भए पनि पर्यटन व्यवसायीले अपाङ्गतामैत्री पूर्वाधार तयार गरी यसबाट प्रशस्त फाइदा लिनसक्नेमा आफू विश्वस्त रहेको बताइन्। 'पर्यटन बजार विस्तार हुने गरी हाम्रा होटलमा सुविधा थप्न हामी व्यवसायी तत्पर नै छौँ, थप छलफल गरेर नीतिगतरुपमै सुलभ पर्यटनको अवधारणालाई कार्यान्वयनमा लैजाँदा ठीक होला भन्ने हो,' उनले भनिन्।
त्यसैगरी नेपाल पर्यटन बोर्डका मुख्य कार्यकारी अधिकृत डा धनञ्जय रेग्मीले सरकार, सरोकारवाला र होटल व्यवसायीले सहकार्य गरेर सुलभ पर्यटनको अवसरबाट फाइदा लिनुपर्नेमा जोड दिए। यूएनडीपीका सहआवासीय प्रतिनिधि वर्नर्ड कोकोले कोरोनाका कारण अर्थतन्त्र थिलोथिलो परेका बेला त्यसलाई पहिलेको ठाउँमा पुर्याउने तत्परतासँगै सुलभ पर्यटनको ढोका खोल्ने गरी अध्ययन अनुसन्धान हुनु सकारात्मक विषय भएको भन्दै प्रशंसा गरे।
पत्रकार गजेन्द्र बुढाथोकीले अर्थतन्त्र सकारात्मक बाटोमा जान पर्यटन विस्तार हुनुपर्ने र त्यसका लागि होटल तथा रेष्टुराँमा अपाङ्गतामैत्री पूर्वाधार हुनुपर्ने बताए। राष्ट्रिय अपाङ्ग महासङ्घका महासचिव राजु बस्नेतले अपाङ्गले नेपालका होटलमा सुलभ सेवा र आवश्यक पूर्वाधार नभएकै कारणले असमान व्यवहार भोग्नुपरेको गुनासो गरे।
अध्ययनले यस्तो पर्यटन प्रवर्द्धन गर्न सरकार, निजी क्षेत्र र दातृ निकायले सहकार्य गरी विश्वव्यापीरूपमा अभ्यासमा आएको पहुँचयोग्य पर्यटन बजार विस्तार गर्न अपाङ्गता भएका व्यक्तिसमेतलाई सहभागी गराइ त्यस अनुकूलको नीति निर्माण गर्न सुझाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।