काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा र नेपालका लागि संयुक्त राष्ट्रसंघकी आवासीय संयोजक सारा व्योसोलो नयन्थीबीच आज महासंघ सचिवालयमा औपचारिक भेटवार्ता भएको छ।
भेटवार्तामा संयुक्त राष्ट्र संघको दिगो विकासका लक्ष्यहरूलाई पूरा गर्न राष्ट्रसंघ र महासंघबीच सहकार्य, नेपाल अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुँदा आइपर्ने चुनौती सामना गर्न निजी क्षेत्रको भूमिका एवं कोभिडबाट अर्थतन्त्रमा परेको असर न्यूनीकरणका लागि संयुक्त प्रयास गर्नेलगायत विषयमा छलफल भएको जानकारी दिएको छ।
उक्त अवसरमा राष्ट्रसंघकी आवासीय संयोजकलाई महासंघ सचिवालयमा स्वागत गर्दै अध्यक्ष गोल्छाले मुलुकभर बलियो सञ्जाल हुनुका साथै तल्लो तहसम्म पुग्नसक्ने संरचना महासंघको भएकाले दिगो विकास लक्ष्य पूरा गर्न महासंघ महत्त्वपूर्ण साझेदार हुनसक्ने बताए।
महासंघले अगाडि बढाएको राष्ट्रिय आर्थिक रुपान्तरण (नेट २०३०) का कार्ययोजना कार्यान्वयन हुन सके नेपालले दिगो विकास लक्ष्य पनि हासिल गर्न सक्ने उनको धारणा थियो। नेट २०३० ले नेपालले अबको पाँच वर्षभित्र विकासशील मुलुकमा स्तरोन्नति हुन पूरा गर्नुपर्ने तयारीलाई समेत समावेश गरेको छ। सोहीअनुसार निजी क्षेत्रमा पर्नसक्ने प्रभाव र न्यूनीकरणका उपायसहितको अध्ययन प्रतिवेदन महासंघले तयार पारेको छ।
मुलुकभित्र उद्योग व्यवसायको विस्तार, लगानी अभिवृद्धि, रोजगारी सिर्जनाका लागि गर्नुपर्ने सुधारका विषयमा नेट २०३० ले दिएका सुझावहरूको कार्यान्वयनमा महासंघले सरकारसँगसमेत पहल गरिसकेको अध्यक्ष गोल्छाले स्पष्ट पारे। यसको कार्यान्वयनका लागि संयुक्त राष्ट्रसंघसँग पनि सहकार्य आवश्यक रहेको उनले बताए। अध्यक्ष गोल्छाले राष्ट्रसंघसँग महासंघले निरन्तर सहकार्य गर्दै आएको र दिगो आर्थिक विकासका लक्ष्य हासिल गर्न महासंघ सहकार्य गर्न तत्पर रहेको बताए।
सोही अवसरमा नेपालका लागि राष्ट्रसंघकी आवासीय संयोजक साराले चुनौतीलाई वहन गर्नसक्ने नेपाली निजी क्षेत्रको क्षमताको प्रशंसा गरिन्। कोभिड महामारीका बीचमा पनि नेपालको अर्थतन्त्रलाई गम्भीर संकटबाट जोगाउन निजी क्षेत्रले खेलेको भूमिका प्रशंसनीय रहेको उनले बताइन्।
एसडीजीका लक्ष्य निर्धारित समयभित्रै पूरा गर्ने कार्यमा महासंघको सहकार्य महत्त्वपूर्ण रहेकाले यसमा सहयोग गर्न पनि उनले आग्रह गरिन्। नेपालको स्तरोन्नति र एसडीजीका लक्ष्यहरू पूरा गर्ने कार्यदिशामा निजी क्षेत्र दरिलो सहयोगी हुनसक्ने र त्यसमा पनि महासंघको सहयोग अझ महत्त्वपूर्ण हुने उनको भनाइ थियो।
सो अवसरमा संयुक्त राष्ट्रसंघ र महासंघबीच हुनसक्ने सहकार्यका विविध क्षेत्रका विषयमा पनि छलफल भएको थियो। छलफलमा महासंघ सचिवालय र राष्ट्रसंघका वरिष्ठ अधिकारीहरूको सहभागिता थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।