काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला वन कार्यालय बाराका तत्कालीन जिल्ला वन अधिकृत भैरव प्रसाद घिमिरेसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
अख्तियारले कलमी विरुवा उत्पादन र खरिदमा अनियमतिता गरेको भन्दै उनीहरुविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो। अख्तियारले तत्कालीन जिल्ला वन अधिकृत भैरवप्रसाद घिमिरे र तत्कालीन सहायक वन अधिकृत बिन्देश्वरप्रसाद पटेलविरुद्ध जनही ४ लाख ९० हजार विगो दाबी गर्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।
त्यस्तै तत्कालीन सहायक वन अधिकृत दिनेशप्रसाद जायसवालविरुद्ध आयोगले ३ लाख ९० हजार विगो दाबी गरेको छ। जिल्ला वन कार्यालय, बारामा बाँसको कलमी विरुवा उत्पादन वा खरिद तथा सदुपयोग, अम्रिसो विरुवा उत्पादन वा खरिद तथा वितरण, नदी उकास जग्गामा खयर, सिसौ, सिमल आदि प्रजातिका विउ खरिद गरी छर्ने समेतको कार्यमा अनियमितता भएको अख्तियारको आरोप पत्रमा उल्लेख छ। पेश्की रकम हिनामिना गरेको उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा भ्रष्टाचार भएको ठहर भएको थियो।
बिउ खरिद गरी छर्नको लागि बढी मूल्यमा खरिद गरी रकम हिनामिना एवं हानीनोक्सानी भएको देखिएको आयोगको आरोपपत्रमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।