संखुवासभा- किराँत मेवाहाङ भाषाको कक्षा-२ को पाठ्यपुस्तक प्रकाशन भएको छ। संखुवासभाको सिलिचोङ गाउँपालिकाको आर्थिक सहयोग र किरात मेवाहाङ याखोम्मा केन्द्रीय कार्य समितिको पहलमा पाठ्यपुस्तक तयार भएको हो।
गत साल कक्षा-१ को पाठ्यपुस्तक तयार गरिएको थियो। सिलिचोङ गाउँपालिकाको विभिन्न १३ विद्यालयमा यो पाठ्यक्रम लागू गरिएको छ। आगामी वर्ष कक्षा-३ को पाठ्यपुस्तक लागू गर्न ५ लाख रुपैयाँ बजेट छुट्याइएको गाउँपलिका अध्यक्ष रामबहादुर कुलुङले जानकारी दिएका छन्।
राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७५ र स्थानीय पाठ्यक्रम विकास तथा कार्यान्वयन मार्ग निर्देशन २०७५ लागू भएपछि मातृभाषामा पाठ्यक्रम बनाउने पठनपाठनको व्यवस्था मिलाउने जिम्मेवारी स्थानीय तहमा छ। सोही नीति अनुरुप मेवाहाङ भाषाको पाठ्यक्रम तयार गरी लागू गरिएको सिलिचोङ गाउँपालिकाका कार्यकारी अधिकृत रामराज पौडेलले बताए।
मेवाहाङ भाषामा आधारभूत तहसम्मको पाठ्यपुस्तक तयार गरेर लागू गर्ने योजना भएको किरात मेवाहाङ याखोम्माको केन्द्रीय अध्यक्ष शंकरदास मेवाहाङले बताए। आगमी वर्षदेखि संखुवासभाकै मकालु गाउँपालिका र इलाम जिल्लाको सूर्योदय नगरपालिकास्थित मेवाहाङ भाषी बसोबास भएको केही विद्यालयमा पनि यो पाठ्यक्रम लागू गर्ने योजना भएको अध्यक्ष मेवाहाङले जानकारी दिए।
उक्त पाठ्यपुस्तक तयार गर्न गणेश मेवाहाङ, दुर्गाकिरण मेवाहाङ, बालजित मेवाहाङ, सुभाष मेवाहाङ, बिनोद सिंलेगा मेवाहाङ, विश्वरसिंह मेवाहाङ र सुमन मेवाहाङ सम्मिलित लेखन समिती गठन गरिएको थियो।
भाषा आयोगको प्रतिवेदन २०७५ अनुसार मेवाहाङ भाषीको जनसंख्या चार हजार ८०० छ। मेवाहाङ भाषीहरुको सघन बसोबास संखुवासभाको सिलिचोङ गाउँपालिका र इलामको सूर्योदय नगरपालिकामा छ। सुनसरी, मोरङ, झापा र काठमाडौमा पनि मेवाहाङ भाषीहरुको बसोबास छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।