काठमाडौं– कोभिड–१९ को संक्रमण बढ्दै गइरहेको अवस्थामा कार्यालयमा सेवाग्राहीको चाप बढेपछि जिल्ला प्रशासन कार्यालय (जिप्रका) तनहुँले आजदेखि बारअनुसार सेवा दिने भएको छ। १० स्थानीय तह रहेको जिल्लाका नागरिकलाई कार्यालयले बारअनुसार सेवा प्रवाह गर्न लागेको हो।
कार्यालयमा अत्यावश्यक सेवाबाहेक अन्य किसिमका दैनिक सेवा लिन आउने सेवाग्राहीको भिड बढेकाले यस्तो व्यवस्था सुरु गरिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगद बरालले जानकारी दिए। कार्यालय तथा बजारमा भिडभाडसँगै संक्रमण पनि बढेकाले आवागमन कम गर्न अर्को व्यवस्था नभएसम्मका लागि स्थानीय तहगतरुपमा सेवा प्रवाहको व्यवस्था मिलाएको उनको भनाइ छ।
कार्यालयका अनुसार आइतबार शुक्लागण्डकी, भानु नगरपालिका तथा आँबुखैरेनी र ऋषिङ गाउँपालिका, सोमबार व्यास नगरपालिका र म्याग्दे गाउँपालिका, मंगलबार शुक्लागण्डकी नगरपालिका, घिरिङ र ऋषिङ गाउँपालिकाका जनताले सेवा लिन पाउनेछन्।
त्यसैगरी, बुधबार भिमाद नगरपालिका, म्याग्दे, ऋषिङ, देवघाट, बन्दिपुर गाउँपालिका, बिहीबार आँबुखैरेनी, देवघाट गाउँपालिका तथा भीमाद र भानु नगरपालिका र शुक्रबार व्यास नगरपालिका र बन्दिपुर गाउँपालिकालाई निर्धारण गरिएको छ।
यसैबीच जिल्ला संकट व्यवस्थापन केन्द्रले पछिल्लो पटक थप गरेको निषेधाज्ञा आज राति १२ बजेदेखि सकिँदै छ। आज नै जिल्ला कोभिड व्यवस्थापन समितिको बैठक बस्ने जनाइएको छ।
बैठकले निषेधाज्ञाको मोडालिटीबारे छलफल गरी प्रमुख जिल्ला अधिकारी संयोजक रहेको कोभिड संकट व्यवस्थापन केन्द्रलाई सिफारिस गर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।