काठमाडौं– उखु किसानहरूलाई तत्काल भुक्तानीको व्यवस्था मिलाउन किसान संगठनहरुले सरकारको ध्यानाकर्षण गराएका छन्।
आइतबार विभिन्न ६ वटा किसान संगठनले संयुक्त विज्ञप्ति निकाल्दै किसानले पाउनुपर्ने भुक्तानी तुरुन्त दिलाइदिन सरकारसँग माग गरेका हुन्। उखु किसानको रकम तत्काल भुक्तानी नगरिए चिनी उद्योगी, व्यापारी र सरकारविरुद्ध कडा संघर्षमा उत्रिने उनीहरुले चेतावनी दिएका छन्।
अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र), अखिल नेपाल किसान महासंघ, अखिले नेपाल किसान महासंघ (अप्फा), अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी), अखिल नेपाल किसान युनियन र अखिल नेपाल प्रगतिशील किसान संघले आइतबार संयुक्त वक्तव्य जारी गर्दै यस्तो माग गरेका हुन्।
किसानको उखु किनेर पैसा नतिर्ने, वर्षौं झुलाएर राख्ने उद्योग, व्यापारी र तिनको संरक्षण गर्ने राज्यका लागि यो राष्ट्रिय लज्जाको विषय भएको उनीहरुले आरोप लगाएका छन्।
केपी ओली नेतृत्वको अघिल्लो सरकारले तत्काल भुक्तानी उपलब्ध गराउने भनेर सडक संर्घषमा रहेको समयमा सहमति गरेको तर त्यसको कार्यान्वयन नगरेको आरोप उनीहरुले लगाएका छन्। उखु किसानहरु तत्कालीन समयमा माइतीघर मण्डलमा आएर लामो समय धर्ना दिएका थिए।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।