काठमाडौं- स्वस्थ रहनका लागि हाम्रो खानपिन पनि सन्तुलित र पोषिलो हुनुपर्छ। हामी के खाँदैछौं भन्ने विषयमा सचेत रहनुपर्छ। हामीले खाने हरेक खानेकुराले शरीरमा फाइदा कि त बेफाइदा गर्दछ।
स्वस्थकर खानेकुराको चर्चा गर्दा 'ब्राउन राइस' (खैरो चामल)को नाम पनि आउँछ। अहिले धेरैजसो मानिस ब्राउन राइस खान थालेका छन्। ब्राउन राइस सेतो चामलको तुलनामा निकै स्वस्थकर मानिन्छ। किनकि यो कम प्रशोधित हुन्छ। सामान्यतया सेतो चामल बनाउन धेरै प्रशोधन गरिन्छ।
ब्राउन राइस अनस्याचुरेटेड फ्याटी एसिड, प्रोटिन, मिनरल्स, भिटामिन्स र स्टार्चको गुणले भरिपूर्ण हुन्छ। बडी विल्डिङ बनाउनेदेखि मधुमेह र मुटुसम्बन्धी रोगका बिरामीले रोगबाट बच्न ब्राउन राइसको सेवन गर्छन्।
ब्राउन राइसमा पाइने पौष्टिक तत्त्वहरु
स्वास्थ्यका लागि निकै फाइदाजनक मानिने ब्राउन राइसमा विभिन्न पौष्टिक तत्त्वहरु पाइन्छ। सेतो चामलको तुलनामा ब्राउन राइस निकै फाइदाजनक र सुरक्षित मानिन्छ। ब्राउन राइसमा सेतो चामलको तुलनामा क्यालोरी र कार्बोहाइड्रेड बढी हुन्छ। ब्राउन राइस फोलेट, राइबोफ्लेविन, पोटासियम र क्याल्सियमको राम्रो स्रोत हो।
यी पौष्टिक तत्त्वका साथै यसमा म्यागनिज पनि प्रचुर मात्रामा पाइन्छ। ब्राउन राइसको सेवनबाट शरीरमा हड्डीको विकास, मांसपेशी बलियो हुनुका साथै ब्लड सुगरलाई नियन्त्रण गर्नमा मद्दत गर्दछ।
ब्राउन राइसले स्वास्थ्यमा गर्ने फाइदाहरु
ब्राउन राइसमा हुने फाइबरले कोलेस्ट्रोललाई कम गर्न मद्दत गर्दछ। यसले पाचन तन्त्रलाई स्वस्थ राख्न पनि मद्दत गर्दछ। ब्राउन राइसको सेवनबाट अल्जाइमर, डिमेन्सिया रेटिङ स्केललाई पनि फाइदा गर्छ। विशेषज्ञका अनुसार नियमित रुपमा तीनदेखि छ महिनासम्म ब्राउन राइसको सेवन गरे अल्जाइमर र डिमेन्सिया जस्तो स्थितिमा फाइदा मिल्छ।
ब्राउन राइसमा पाइने पौष्टिक तत्त्व बालबालिकाको स्वास्थ्यका लागि पनि फाइदाजनक मानिन्छ। ब्राउन राइसमा पाइने प्रोटिन, फाइबर, कार्बोहाइड्रेड, म्याग्नेसियम आदि बालबालिकाको विकासका लागि निकै महत्त्वपूर्ण मानिन्छ।
ब्राउन राइसमा भरपुर मात्रामा एन्टिअक्सिडेन्ट पाइन्छ। जसले विभिन्न किसिमका क्यान्सरको जोखिमलाई पनि कम गर्छ। ब्राउन राइसले रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउनुका साथै शरीरको तौल कम गर्न पनि मद्दत गर्दछ। सेतो चामलको सट्टा ब्राउन राइसको सेवन शरीरको तौल कर्म गर्नेका लागि फाइदाजनक मानिन्छ।
(एजेन्सीको सहयोगमा)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।