काठमाडौं- जनै र जनैपूर्णिमाको रातमा खाइने क्वाटीको व्यापार ह्वात्तै घटेको व्यापारीहरुले बताएका छन्।
जनैपूर्णिमाको अघिल्लो दिन शनिबार बिहान काठमाडौंको असन बजारमा टोलाएर बसेका व्यापारीहरुले जनै र क्वाटी दुवैको व्यापार गत वर्षको भन्दा धेरै कम भएको बताएका हुन्।
असनका स्थानीय व्यापारी साहित्यरत्न तुलाधरले गत वर्षको भन्दा यस वर्ष क्वाटीको व्यापार धेरै कम भएको बताए। क्वाटी तागत दिने खानेकुरा भए पनि यसको व्यापार यस वर्ष धेरै कम भएको उनको भनाइ छ। तुलाधरले भने, ‘व्यापार यसपालि त्यति छैन। धेरै कम छ। क्वाटी वर्षमा एक पटक खानैपर्ने हो। तर यसको व्यापार कम छ।’
यसैबीच असन चोकमै जनै व्यापार गरिरहेका दोलखाका दूर्गाप्रसाद उपाध्याय न्यौपानेले मानिसहरुले जनै खरिद गर्न नै छाडिसकेको प्रतिक्रिया दिए। उनले कोहीकोही बूढाबूढीले जनै लगे पनि युवाहरु धेरैले यसलाई लगाउनै छाडिसकेको अनुभव सुनाए। न्यौपानेले १५ र २५ रुपैयाँ दरका जनै व्यापार गर्ने गरेका छन्। तर, ग्राहक पाउनै समस्या भएको उनको गुनासो छ।
जनैपूर्णिमालाई हिन्दूहरुको विशेष पर्व मानिन्छ। तर, कोरोनालगायतका प्रभावका कारण जनै र क्वाटीको व्यापार भने कम हुँदै गएको व्यापारीहरुको बुझाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।