काठमाडौं– नेपाली बजारमा गत साता सुनको भाउ १५ सय रुपैयाँले उकालो लागेको छ। अघिल्लो साताको शुक्रबार ८९ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन यो शुक्रबार आइपुग्दा प्रतितोला ९१ हजार २ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यो साता सुनको भाउमा सामान्य उतारचढाव देखिएको छ। महासंघको तथ्यांकका आधारमा गत शुक्रबार अर्थात साउन २९ गते सुनको भाउ प्रतितोला ८९ हजार ७०० रुपैयाँ तोकिएको थियो।
साताको आइतबार प्रतितोला एक हजार रुपैयाँ बढेर सुनको कारोबार सुरु भएको थियो। सोमबार र बिहीबार सामान्य रुपले ओरालो लागेको थियो भने अन्य कारोबार दिनमा सुनको मूल्य बढेको महासंघले जनाएको छ।
महासंघको तथ्यांक अनुसार साताभरमा चाँदी भने तोलामा १० रुपैयाँले बढेको छ। अघिल्लो साताको शुक्रबार प्रतितोला ११ सय ८५ रुपैयाँमा खरिदबिक्री भएको चाँदी यो साताको अन्तिम दिन ११ सय ९५ रुपैयाँ पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।