काठमाडौं- महालेखापरीक्षकको कार्यालयले मुलुकका ६९४ स्थानीय तहले गरेको खर्चमा ४६ अर्ब १२ करोड २१ लाख रुपैयाँ बेरुजु औंल्याएको छ।
कार्यालयले गत वर्ष मुलुकको ७५३ स्थानीय तहमध्ये ६९४ वटाको लेखापरीक्षण सम्पन्न गरेको जनाएको छ। ती स्थानीय तहबाट भएका आठ खर्ब १३ अर्ब ९५ करोड ४५ लाख रुपैयाँ खर्चको लेखापरीक्षण गरिएको कार्यालयको प्रतिवेदनमा उल्लेख छ।
लेखापरीक्षणबाट ४६ अर्ब १२ करोड २१ लाख बेरुजु देखिएकोमा प्रारम्भिक प्रतिवेदन उपलब्ध गराएपछि पाँच अर्ब ८८ करोड नौ लाख रुपैयाँ फर्स्योट गरेको महालेखाको प्रतिवेदनमा उल्लेख छ। स्थानीय तहमा ४० अर्ब २४ करोड १२ लाख फर्स्योट गर्न बाँकी रहेको प्रतिवेदनमा उल्लेख छ।
फर्स्योट गर्न बाँकी रकममध्ये असुल गर्नुपर्ने पाँच अर्ब ४४ करोड २९ लाख, नियमित गर्नुपर्ने २७ अर्ब ७४ करोड ८२ लाख तथा पेस्की सात अर्ब पाँच करोड एक लाख रहेको प्रतिवेदनमा उल्लेख छ। त्यसैगरी पाँच स्थानीय तहको २०७५/७६ को तीन अर्ब १० करोड ६१ लाख रुपैयाँ खर्चको लेखापरीक्षणबाट ५९ करोड ३४ लाख बेरुजु देखिएको प्रतिवेदनमा उल्लेख छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।