काठमाडौं- निर्यात व्यवसायी महासङ्घ नेपालले सन् २०२५ को अन्त्यसम्म नेपालको निर्यात व्यापारको आकार सात अर्ब अमेरिकी डलर पुर्याउने लक्ष्य राखेको छ।
महासङ्घले नेपालको निर्यात व्यापारको आकार आगामी तीन वर्षमा एक अर्ब अमेरिकी डलरबाट दुई अर्ब अमेरिकी डलर पुर्याउने र सन् २०२५ को अन्त्यसम्म सात अर्ब अमेरिकी डलर पुर्याउने लक्ष्य राखेको हो।
नेपालको निर्यात व्यवसायलाई अभिवृद्धि गरी व्यापार घाटा कम गर्न महासङ्घले यहि साउन २७ देखि २९ गतेसम्म ४० देशका कुटनीतिक नियोगका प्रतिनिधीसँग भर्चुअल माध्यामबाट गरेको अन्तरक्रिया बाट समृद्ध मुलुक निर्माणका लागि निर्यातलाई जोड दिनुपर्ने निष्कर्ष निकालेको हो।
कुटनीतिक नियोगका प्रतिनिधीसँगको छलफलपछि काठमाडौको लाजिम्पाटस्थित होटल सम्पदा गार्डेनमा आज पत्रकार सम्मेलन गर्दै महासङ्घले कुन देशमा कुन वस्तुको आवश्यकता छ भन्नेबारे कुटनीतिक नियोगले छलफल गरेर एक महिनाभित्र महासङ्घलाई रायसुझाव दिने बताएको छ।
सम्मेलनमा महासङ्घका अध्यक्ष एवम् गण्डकी प्रदेशका सांसद रामबहादुर गुरुङले नेपालको व्यापार घाटालाई कम गरी सरकारले लिएको ‘समृद्ध नेपाल–सुखी नेपाली’को राष्ट्रिय लक्ष्यलाई पुरा गर्नका लागि निर्यातमा जोड दिन महासङ्घ कुटनीतिक नियोगसँग छलफल अगाडि बढाएको जानकारी दिएका छन्।
नेपालमा उत्पादित भएका कृषि सामाग्री र औधोगिक सामाग्रीको निर्यात मात्र नभई उर्जा उत्पादनमा जोड दिई उर्जा निर्यातलाई समेत महासङ्घले अगाडि बढाउन खोजेको छ।
हाल नेपालबाट १२० भन्दा बढी मुलुकमा ९५० भन्दा बढी उत्पादित सामाग्रीहरु निर्यात हुँदै आएको हुदा समृद्ध मुलुक निर्माणका लागि औधोगिक क्षेत्रको निर्माणमा जोड दिनुपर्ने अध्यक्ष गुरुङको भनाइ थियो।
निर्यात प्रवद्र्धनका लागि कतिपय मुलुकका नेपाली दूतावासमा वजेट समेत नभएको अवस्थामा निर्यातकर्ताको पहलमा परराष्ट्र मन्त्रालयमार्फत वजेट छुट्याउन लागेर निर्यात प्रर्वधनलाई जोड दिएको अध्यक्ष गुरुङको भनाइ छ। नेपालबाट विशेषगरी विदेशमा कार्पेट, गार्मेन्ट, पश्मिना, फेल्टलगायतका सामाग्री निर्यात हुँदै आएका छन्।
महासङ्घका महासचिव अमृत खड्का कुटनीतिक नियोगका प्रतिनिधीसँगको छलफलपछि कुन देशमा कुन वस्तुको आवश्यता छ भन्नेबारे जानकारी पाईने हुँदा सम्बन्धित देशलाई आवश्यक सामाग्री निर्यातमा महासङ्घले सहजताको भूमिका खेल्नसक्ने बताउँछन्।
नेपालमा उत्पादित वस्तुमध्ये सबैभन्दा धेरै वस्तु भारतमा निर्यात हुँदै आएको छ। त्यसपछि दोस्रो निर्यात हुने मुलुक अमेरिका हो। निर्यात गर्ने १२ वटा वस्तुगत सङ्घ र निर्यातकर्ताको सहकार्यमा विस २०७६ माघमा स्थापना भएको महासङ्घमा हाल २२ वस्तुगत सङ्घ आवद्ध भइसकेका छन्।
हाल नेपालबाट १०० भन्दा बढी निर्यातकर्ताले विदेशमा उत्पादित सामाग्री निर्यात गर्दै आइरहेको महासङ्घले जनाएको छ। नेपालको आर्थिक क्षेत्रलाई थप सबल बनाउनका लागि निर्यातलाई जोड दिनुपर्ने मान्यता राख्दै आएको महासङ्घले ५०० सदस्य पुर्याउने लक्ष्य लिएको अध्यक्ष गुरुङले बताए।
महासङ्घले नेपालमा उत्पादित वस्तुलाई निर्यातमा जोड दिएपनि विश्वका विभिन्न मुलुकसहित नेपालमा फैलिएको कोरोनाका कारण निर्यातमा समस्या उत्पन्न भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।