फाइल तस्वीर
काठमाडौं– लामो समयदेखि काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापन हुँदै आएको सिसडोल भरिएपछि समस्या भएको छ। सिसडोलमा फोहोर व्यवस्थापन हुन नसक्दा उपत्यकाका सडकमा फोहोर थुप्रन थालेको छ।
गत सोमबार नै काठमाडौँ महानगरपालिकाले सूचना जारी गर्दै एक हप्ता घरबाहिर फोहोर ननिकाल्न आग्रहसमेत गरिसकेको छ। पानी परिरहेकाले अझै केही दिन फोहोर व्यवस्थापनमा समस्या हुनसक्ने महानगरले जनाएको छ।
सिसडोल भरिएको र तत्कालका लागि केही व्यवस्थापन गर्ने प्रयास भइरहेको भए पनि तत्काल समस्या समाधान हुन नसक्ने महानगरले जनाएको छ।
निरन्तर पानी परिरहँदा सिसडोलमा रहेको फोहोरको थुप्रो व्यवस्थापन गर्न समस्या भएको महानगरका वातावरण विभाग प्रमुख हरिकुमार श्रेष्ठले बताए।
महानगरले केन्द्र सरकारसँग छिटोभन्दा छिटो दीर्घकालीन रुपमा फोहोर व्यवस्थापन गर्ने स्थान बञ्चरेडाँडा निर्माण गरेर सिसडोलको विकल्प दिन आग्रह गरेको उनले बताए।
सामान्य समयमा हरेक दिन २ सय गाडीले फोहोर व्यवस्थापन गर्दै आएका थिए। अहिले ५० गाडी पनि जान समस्या रहेको प्रमुख श्रेष्ठले जानकारी दिए। एकातिर सिसडोल भरिएको छ भने अर्कातिर ल्याण्डफिल साइट जाने सडक केही दिनदेखि परेको अविरल वर्षाका कारणले बिग्रेकाले मर्मतका लागि केही दिन लाग्ने महानगरले जनाएको छ।
यसरी निरन्तर फोहोर नउठ्दा काठमाडौँका सडक किनारामा जताततै फोहोर हँुदा दुगन्र्ध फैलिएको छ। उपत्यकाको फोहोर विगत १३ वर्षदेखि सिसडोलमा रहेको ल्याण्डफिल साइटमा विसर्जन हुँदै आएको छ।
हाल फोहोर विसर्जन भएको स्थानभन्दा दुई किलोमिटर पर बञ्चरेडाँडामा स्यानिटरी ल्याण्डफिल साइट निर्माण गर्न २०७६ वैशाख २२ गते एक वर्षभित्र काम सम्पन्न गर्ने गरी लुम्बिनी कोशी एण्ड न्यौपाने जेभीसँग ठेक्का सम्झौता गरिएको थियो।
बञ्चरेडाँडामा दीर्घकालीन फोहोर व्यवस्थापनस्थल निर्माणको काम समयमा नै नसकिँदा पनि समय–समयमा फोहोर व्यवस्थापनमा समस्या आइरहेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।