काठमाडौं– अफगानिस्तानबाट बुधबारसम्म २७२ जना नेपाली नागरिकको उद्धार गरिएको गृह मन्त्रालयले जनाएको छ। बुधबार अफगानिस्तानबाट कतार एयरवेजको जहाजबाट थप ६१ जना नेपाली स्वदेश फर्किएको मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले जानकारी दिए।
जजिरा एयरलाइन्सको चार्टर्ड बिमानबाट मंगलबार दिउँसो ११८ र सोही दिन राति ८४ जना नेपाली स्वदेश आइपुगेको उनले जानकारी दिए।
त्यस्तै, अफगानिस्तानबाट नेपाल फर्किन चाहने नेपालीले अनलाइन रजिस्ट्रेसनमा आफ्नो विवरण दर्ता गर्न सक्ने व्यवस्थासमेत गरिएको छ।
प्रवक्ता पोखरेलका अनुसार अहिलेसम्म अगानिस्तानबाट नेपाल फर्किन चाहने २५६ जना नेपालीले आफ्नो विवरण दर्ता गराएका छन्।
कन्सुलर सेवा विभागको अनलाइन पोर्टलमा रहेको नामसहितका विवरण दर्ता गर्न भाइबर र ह्वाट्सएप सुविधासहितको मोबाइल नम्बर उपलब्ध गराइएको समेत उनले बताए।
कन्सुलर सेवा विभागको ९७४९३२६४५८, परराष्ट्र मन्त्रालयको ९७४९३२६४५९ र नेपाली दूतावास नयाँ दिल्लीको ८९२९६०११२५ नम्बरको प्रयोग गरी आफ्नो विवरण टिपाउन अनुरोध गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।