समूह बी – पोर्चुगल, स्पेन, मोरक्को, इरान।
समूह 'बी' को पहिलो खेलमा युरोपियका दुई बलिया टिमबीच प्रतिस्पर्धा हुँदैछ। युरोपियन च्याम्पियन पोर्चुगल र स्पेनबीच सोचीमा हुने खेल रोमाञ्चक हुने धेरैको अपेक्षा छ। समूह चरणमा यो खेललाई छुटाउनै नहुने खेलमा राख्न सकिन्छ। स्पेन र पोर्चुगल समूहमा हुँदा समूहमा रहेका मोरक्को र इरान छाँयामा परेका छन्।
के तपाईंलाई थाहा छ?
पोर्चुगलका लागि रसिया नौलो ठाँउ होइन। युरो २०१६ को विजेता पोर्चुगलले गत वर्ष भएको कन्फेडेरेसन कपमा तेस्रो स्थान हात पारेको थियो। रसियामा भएको प्रतियोगितामा पोर्चुगलले मेक्सिकोलाई हराएर तेस्रो स्थान हात पारेको थियो।
इरानले आफ्ना २२ वर्षीय स्ट्राइकर सरदार एजमाउबाट निकै आसा गरेको छ। सरदार रसियन क्लब रुबिन कजानबाट खेल्छन्। सरदारले रसियामा खेलेकाले इरानले धेरै आसा गरेको हो। सरदारले विश्वकप छनोटमा ११ गोल गरेका थिए।
मोरक्को अफ्रिका छनोटको समूह सीको विजेता बनेर विश्वकपमा छानिएको हो। उसले आइभरी कोस्ट गाभोन र मालीलाई पछि पारेको थियो।
विश्वकपमा स्थान पक्का गर्ने तेस्रो टिम इरान हो। त्यसअघि रसियाले आयोजकको रुपमा र ब्राजिलले दक्षिण अमेरिकाबाट विश्वकपको टिकट पक्का गरेका थिए।
समूह 'बी'का चार टिमको विश्वकप इतिहास
स्पेन
सन् २०१० को विश्व विजेता स्पेन लगातार १५औं पटक विश्व कप खेल्दैछ। यसपालि युरोप छनोट अन्तर्गत समूह ‘जी’ को विजेता बन्दै स्पेनले रुसको टिकट पक्का गरेको हो। स्पेनले सन् १९३४ मा पहिलो पटक विश्व कप खेलेको थियो। त्यसयता १९५०, १९६२, १९६६, १९७८, १९८२, १९८६, १९९०, १९९४, १९९८, २००२, २००६, २०१० र २०१४ मा प्रतिस्पर्धा गरेको थियो।
पोर्चुगल
सातौं पटक विश्व कप खेल्न लागेको पोर्चुगल युरोप छनोटको समूह ‘बी’ को विजेता बन्दै रुसमा सहभागी हुन लागेको हो। पोर्चुगलको उच्च प्रदर्शन सन् १९६६ मा तेस्रो स्थान हात पार्नु हो। पोर्चुगलले १९६६, १९८६, २००२, २००६, २०१० र २०१४ मा विश्व कप खेलिसकेको छ।
इरान
इरान एसियाको तेस्रो चरणको छनोटअन्तर्गत समूह ’ए’ को विजेता बन्दै विश्व कपका लागि छानिएको हो। इरानले विश्व कप खेल्न लागेको यो पाँचौ पटक हो। यसअघि उसले सन् १९७८, १९९८, २००६ र २०१४ मा पनि खेलेको थियो। विश्व कपमा इरानको खासै राम्रो प्रदर्शन छैन। ऊ दोस्रो चरण पनि पुग्न सकेको छैन।
मोरक्को
मोरक्को २० वर्षपछि विश्व कपमा फर्किएको हो। सन् १९९८ को विश्व कपयता मोरक्कोले स्थान बनाउन सकेको थिएन। अफ्रिकी छनोटको समूह ‘सी’मा शीर्ष स्थानमा रहेको मोरक्कोले पाँचौ पटक विश्व कप खेल्दै छ। विश्व कपमा मोरक्कोको उत्कृष्ट प्रदर्शन १९८६ मा अन्तिम १६ मा पुग्नु हो। मोरक्कोले यसअघि १९७०, १९८६, १९९४ र १९९८ मा विश्व कप खेलेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।