काठमाडौं- नेपाल चेम्बर अफ कमर्सका पदाधिकारी र राष्ट्रिय प्रजातन्त्र पार्टीका शीर्ष नेताबीच आर्थिक क्षेत्रका विविध पक्षबारे छलफल भएको छ।
छलफलमा चेम्बर अध्यक्ष राजेन्द्र मल्लले मुलुकको आर्थिक क्षेत्रको विकासका लागि कृषिलाई प्राथमिकता दिनुपर्ने बताए। नेपालले वर्षेनी खर्बौं मूल्यका खाद्यान्नलगायत कृषिजन्य वस्तुहरु आयात गरिरहेको पृष्ठभूमिमा कृषिको सम्भाव्यता प्रचुरमात्रामा रहेकोले कृषिलाई प्राथमिकता दिन र कृषिको उत्पादकत्वमा वृद्धि गरी उत्पादनलाई बजारसँग संयोजन गर्नुपर्ने आवश्यकता रहेको उनले बताएका थिए।
राप्रपाले निकट भबिष्यमा तर्जुमा गर्न लागेको आर्थिक नीतिका लागि उक्त पार्टीले निजी क्षेत्रको अवधारणाबारे जानकारी लिने क्रममा आज चेम्बरमा आयोजित कार्यक्रममा अध्यक्ष मल्लले कोभिडको राहत प्याकेज ग्रामीणस्तरमा पुग्न नसकेको बताए। विदेशबाट सीप सिकेर आएका युवाहरुको सीप उपयोगका लागि न्यूनतम ब्याजदरमा कर्जा उपलब्ध हुनुपर्ने उनले बताएका थिए।
राप्रपाका अध्यक्ष पशुपति शमशेर जबराले आर्थिक विकासका सवालमा निजी क्षेत्रको अहं भूमिका हुने मान्यतासहित खुलाबजार अर्थनीति तथा संगठित क्षेत्रमा निजी क्षेत्रको सहभागिता हुनुपर्ने विश्वास राष्ट्रिय प्रजातन्त्र पार्टीको रहेको बताए।
अर्का अध्यक्ष कमल थापाले चेम्बरका सुझावहरु निकै उपयोगी भएको र चासोका साथ लिएको उल्लेख गर्दै पार्टीको आर्थिक घोषणापत्र तर्जुमा गर्ने क्रममा चेम्बरबाट प्रस्तुत गरिएका सुझावहरुलाई मनन गरिने बताए। राप्रपाका अर्का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले चेम्बरबाट प्रस्तुत सुझावहरुबारे जिज्ञासा राखेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।