काठमाडौं– मौद्रिक नीतिले नेपाल हस्तकलाको प्रवर्द्धनमा सहयोग पुग्ने नेपाल हस्तकला व्यवसायी संघको भनाइ छ। राष्ट्र बैंकले हालै सार्वजनिक गरेको ०७८÷७९ को मौद्रिक नीतिले कोभिड महामारीबाट प्रभावित हस्तकला क्षेत्रका घरेलु, साना तथा मझौला उद्योग र व्यवसायलाई पुनर्जीवित पार्न ऊर्जा मिल्ने विश्वास संघको छ।
कोरोना महामारीले थिलोथिलो भएको देशको आर्थिक वृद्धिको गतिमा सुधार ल्याउन मौद्रिक नीति सकारात्मक रहेको संघको ठहर छ।
घरेलु, साना तथा मझौला उद्योग र व्यवसायका लागि वित्तीय सुविधाका योजनाको निरन्तरता दिँदै बैंक तथा वित्तीय संस्थाबाट दिइएको ऋणको भुक्तानीको समयावधि बढाइनुलाई संघले सकारात्मक ठानेको छ।
मौद्रिक नीतिमा घरेलु, साना तथा मझौला उद्योग र व्यवसायलाई ऋण प्रवाह गर्न स्थानीय नगरपालिकामा विशेष कक्षको व्यवस्थासम्बन्धी प्रावधान राखिएकाले स्थानीय स्तरमा वित्तीय पहुँच र स्रोत परिचालन वृद्धि हुने अपेक्षा संघको छ।
महामारीका कारण जागिर गुमाउनेलाई स्वरोजगार बन्न र व्यावसायिक विविधीकरणका लागि १५ लाख रुपैयाँसम्मको ऋण सुविधा उपलब्ध हुनु सकारात्मक रहेको संघको ठहर छ।
घरेलु, साना तथा मझौला उद्योग र व्यवसाय सञ्चालन गर्ने महिला उद्यमीलाई स्वरोजगार परियोजनाअन्तर्गत उपलब्ध गराइएको ऋणलाई वञ्चित ऋणमा रुपान्तरण गर्न प्रोत्साहित गर्ने नीति सराहनीय रहेको संघले जनाएको छ।
मौद्रिक नीतिमा वित्तीय पहुँचको सुविधा उपलब्ध गराई स्वदेशी कच्चा पदार्थमा आधारित उद्योग स्थापनाका लागि प्रोत्साहित गरिने कार्यक्रम समावेश गरिनु सकारात्मक रहेको संघको भनाइ छ।
साना उद्यमी व्यवसायी र नव प्रवेशी उद्यमीलाई प्रोत्साहित गर्न डिजिटल बैंकिङ प्रणाली कार्यान्वयन गरिने विषय उल्लेख गरिएकाले हस्तकला व्यवसाय थप गतिशील हुने विश्वास रहेको संघका अध्यक्ष मीरा भट्टराईले बताइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।