काठमाडौं– अफगानिस्तानमा रहेका नेपालीलाई सुरक्षित रुपमा स्वदेश फर्काउने पहल थाल्न गृहमन्त्री बालकृष्ण खाँणले सम्बन्धित निकायका अधिकारीलाई निर्देशन दिएका छन्। 
गृहमन्त्री खाँणले सोमबार परराष्ट्र मन्त्रालय, पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्रालय, चारवटै सुरक्षा निकायका प्रमुखलाई तत्काल उद्धारका लागि आवश्यक पहल गर्न  निर्देशन दिएका हुन्। 
अन्तर्राष्ट्रिय समुदायसँग समन्वय गरी त्यहाँ रहेका नेपालीलाई स्वदेश फर्काउने कार्ययोजना बनाउनुपर्ने मन्त्री खाँणको भनाइ थियो।  नेपाल फर्काएपछि उनीहरुलाई पीसीआर परीक्षण  तथा क्वारेन्टिनलगायतको व्यवस्था गरी घरसम्म पुर्याउने गरी कार्ययोजना बनाउनुपर्ने गृहमन्त्रीको भनाइ थियो।
मन्त्रिपरिषद्को बैठकले अफगानिस्तानबाट नेपालीको उद्धार गर्ने सन्दर्भमा आवश्यक निर्णय गसिकेरको जानकारी दिँदै मन्त्री खाँणले सबै निकायबीच समन्वय र सूचना आदानप्रदान गर्न पनि निर्देशन दिए। 
बैठकमा परराष्ट्र सचिव भरतराज पौडेल नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक गणेशप्रसाद अधिकारी, नेपाली सेनाका उपरथी सरोजप्रताप राणालगायत सहभागी थिए। सो अवसरमा उनीहरुले अफगानिस्तानमा रहेका नेपालीको अवस्था र उद्धारका सन्दर्भमा आवश्यक कामका विषयमा ब्रिफिङसमेत गरेका थिए।
                                                        
                                                        नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
                                सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com  मा
                                पठाउनु होला।