काठमाडौं– वीरगञ्जका सामुदायिक तथा संस्थागत विद्यालयहरू खुलेका छन्। वीरगञ्ज महानगरपालिकाले आइतवारदेखि कक्षा ८ देखि १२ सम्मको पठनपाठन सुचारु गर्ने निर्णय गरेको हो।
बुधवार सरोकारवालाहरूसँगको छलफलमा सहभागीले विद्यालय खोल्न आग्रह गरेपछि स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर विद्यालय खोल्ने निर्णय गरिएको नगर प्रमुख विजयकुमार सरावगीले बताए।
कोरोना संक्रमण नियन्त्रणमा आएको भन्दै महानगरले डेढ महीनाअघि नै विद्यालय सञ्चालन गर्न खोजेको थियो। जिल्ला संकट व्यावस्थापन केन्द्रले सहमति नदिएकाले अहिलेसम्म विद्यालय सञ्चालन गर्न नसकिएको नगर प्रमुख सरावगीले बताए।
कोरोना नियन्त्रणमा आएकाले ‘ग्रीन जोन’मा परेको वीरगञ्जमा स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर विद्यालय खोल्न सकिने महानगरले बताउँदै आएको थियो।
यसअघि मन्त्रिपरिषद् बैठकले विद्यालय बन्द गर्ने निर्णय गरेकाले मन्त्रिपरिषद्बाटै पुनः सञ्चालनको निर्णय आएमात्रै विद्यालय चलाउन पाइने अडान केन्द्रको रहँदै आएको छ। स्थानीय प्रशासनको अडानका कारण विद्यालय खुलाउने डेढ महीनादेखिको प्रयास असफल भएपछि नगर प्रमुख सरावगीले सरोकारका पक्षको भेला राखेर सहयोगको आग्रह गरेका हुन्।
राजनीतिक दल, शिक्षक संघ संगठनका अगुवा, अभिभावकलगायतको सहभागिता रहेको छलफलले विद्यालय खोल्नुपर्ने निष्कर्ष निकालेपछि महानगर विद्यालय सञ्चालन गर्ने निर्णयमा पुगेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।