बनेपा– कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै गएपछि सेवाग्राहीको भीडभाड हुने दुई कार्यालयले आजदेखि बारअनुसारको सेवा प्रवाह गर्ने भएका छन्। काभ्रेपलाञ्चोकका जिल्ला प्रशासन कार्यालय र जिल्ला मालपोत कार्यालयले स्थानीय तह तोकेर बारअनुसारको सेवा दिने तयारी गरेका हुन्।
कार्यालयमा दैनिकरूपमा सेवाग्राहीको अत्यधिक भीड बढेको र जिल्लामा कोरोना संक्रमणदर बढिरहेकाले आइतबारदेखि स्वास्थ्य–सुरक्षाको मापदण्ड अपनाई बारअनुसार सेवा दिने तयारी गरिएको प्रशासन कार्यालयको सूचनामा उल्लेख छ।
अर्को व्यवस्था नभएसम्मका लागि धुलिखेल, पाँचखाल नगर र पनौती नगरपालिकाका लागि आइतबार, मंगलबार र बिहीबार तथा बनेपा नगर, मण्डनदेउपुर नगर र नमोबुद्ध नगरपालिकाका लागि सोमबार, बुधबार र शुक्रबार सवा प्रवाह हुने जनाइएको छ।
गाउँपालिकाको हकमा भने हरेक दिन सेवा उपलब्ध रहेको प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले जानकारी दिए।
यस्तै जिल्ला मालपोतले पनि बारअनुसार नै सेवा प्रवाह गर्ने जनाएको हो।हाललाई बनेपा र नमोबुद्ध नगरलाई आइतबार र बुधबार, धुलिखेल र मण्डनदेउपुर नगरलाई सोमबार र बिहीबार तथा पाँचखाल र पनौती नगरलाई मंगलबार र शुक्रबार सेवा उपलब्ध गराउने कार्यालयले जनाएको छ। गाउँपालिकाको हकमा भने हरेक दिन सेवा उपलब्ध हुने कार्यालयको सूचनामा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।