फाइल तस्वीर काठमाडौं– तातोपानी नाकाबाट व्यापार सहज बनाउन व्यवसायीले सरकारसँग माग गरेका छन्। जुरे पहिरो तथा २०७२ सालको भूकम्पपछि नाका पूर्ण रुपमा सञ्चालन हुन सकेको छैन।
सिन्धुपाल्चोक उद्योग वाणिज्य संघ र नेपाल हिमालय सीमापार वाणिज्य संघले शनिबार प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाउँदै नाका पूर्ण रुपले सञ्चालनमा ल्याउनुपर्ने माग राखेका हुन्।
संकटग्रस्त क्षेत्र सिन्धुपाल्चोकमा आइपरेका अनेकौं विपद्ले निकै समस्या रहेको र नाका सञ्चालन नहुँदा व्यवसायीलाई समस्या परेको भन्दै दुबै संघले नेपाल चीनबीचको व्यापारिक कारोबार अगाडि बढाउन पहल गरिदिन प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका छन्।
राजस्व संकलनमा उल्लेख्य योगदान गर्ने नाका पूर्णरुपले सञ्चालन हुनुपर्ने माग ज्ञापन पत्रमा राखिएको सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष वेदबहादुर श्रेष्ठले बताए।
नाका अस्थिर हुँदा सयौंको रोजीरोटी गुमेको छ। नाकाबाट कारोबार बन्द हुँदा त्यहाँ काम गर्ने मजदूर अहिले समस्यामा परेकाले पूर्णरुपले नाका सञ्चालन हुनुपर्ने नेपाल हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष अशोककुमार श्रेष्ठको भनाइ छ।
नाका सञ्चालनका साथै विपद् न्यूनीकरणका लागि पहल गरिदिनसमेत संघले प्रधानमन्त्री देउवासमक्ष अनुरोधसमेत गरेको छ।
विसं २०७१ को जुरे पहिरो, २०७२ को विनाशकारी भूकम्प, २०७३ को भोटेकोशी बाढी, २०७७ को जम्बु, घुम्थाङ, लिदी पहिरो तथा २०७८ असार १ र १७ गतेको मेलम्ची र इन्द्रावती नदीमा आएको बाढीका कारण सिन्धुपाल्चोक प्राकृतिकरुपमा विपद्ग्रस्त बन्दै आइरहेको छ।
पटक–पटकको बाढीका कारण अरनिको राजमार्गको लिपिङ पुल, कोदारी पहिरो, डाक्लाङ पहिरो, लार्चा पुललगायतमा क्षति पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।