मस्को- जेठ ३१ देखि सुरु हुने फिफा विश्वकप फुटबल प्रतियोगिताका लागि इरानको राष्ट्रिय फुटबल टिम बुधबार रसिया पुगेको छ। योसँगै विश्वकपका लागि टिमहरु रसिया आउने क्रम सुरु भएको छ।
इरानका प्रशिक्षक कार्लोस क्युरोजले रसिया पुगेपछि आफ्नो टिमको सपना साकार भएको प्रतिक्रिया दिएका छन्। उनले अथक परिश्रम र त्यागले इरान विश्वकपमा छनोट हुन सफल भएको समेत बताए। रसिया पुगेको इरानले अब मस्कोमा रहेको बाकोभ्का ट्रेनिङ सेन्टरमा अभ्यास गर्नेछ।
इरान विश्वकपको समूह 'बी' मा छ। यो समूहमा युरोपियन च्याम्पियन पोर्चुगल र पूर्व विश्वविजेता स्पेनसँगै मोरक्को छन्। इरानले १५ जुनमा मोरक्को विरुद्ध पहिलो खेल खेल्नेछ।
इरान सन् २०१८ को विश्वकपमा छानिने पहिलो एसियन टिम बनेको थियो। इरान एसियाको तेस्रो चरणको छनोटअन्तर्गत समूह ’ए’ को विजेता बन्दै विश्व कपका लागि छानिएको हो। इरानले विश्व कप खेल्न लागेको यो पाँचौ पटक हो। यसअघि उसले सन् १९७८, १९९८, २००६ र २०१४ मा पनि खेलेको थियो। विश्व कपमा इरानको खासै राम्रो प्रदर्शन छैन। ऊ दोस्रो चरण पनि पुग्न सकेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।