काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल राष्ट्र बैंकले ल्याएको मौद्रिक नीति सकारात्मक रहेको बताएका छन्। उनले कोभिड-१९ बाट प्रभावित उद्योग व्यवसाय र मुलुकको समग्र अर्थतन्त्रको पुरुत्थानमा यसले सहयोग पुग्ने अपेक्षा व्यक्त गरे।
'गत वर्षको मौद्रिक नीतिमा दिइएका सुविधाहरुलाई निरन्तरता दिइएको छ। केही नयाँ सुविधासमेत थप गरेको पाइएकोले यसलाई हामीले सकारात्मक रुपमा लिएका छौं,' उनले भने।
यस वर्षको मौद्रिक नीतिमा डिजिटाइजेसनलाई प्राथमिकता दिइएको उल्लेख गर्दै उनले यो सकारात्मक भएको बताए। 'मौद्रिक नीतिले बैंक तथा वित्तीय संस्थाहरुलाई मर्जरमा जान पनि प्रोत्साहित गरेको देखिएको छ,' वरिष्ठ उपाध्यक्ष ढकालले भने।
आफूहरुले विशेषगरी कोभिडको संक्रमणबाट प्रभावित अर्थतन्त्रको पुनरुत्थान हुने गरी मौद्रिक नीति आउनुपर्ने र गत वर्ष दिइएका सुविधाहरुलाई निरन्तरता दिन सुझाव दिइएकोमा प्राय: सुझावहरु समेटेको पाइएको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।